हेटौंडाः नेपाल सिन क्योकुसिन कराँते संघ हेटौंडाले कराँते खेलका अन्तर्राष्ट्रिय रेफ्रीलाई प्रमाणपत्र वितरण गरेको छ । चन्द्रबहादुर गोलेको सभाध्यक्षमा भएको कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।
हेटौंडा–४ स्थित कभर्डहलमा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, नेपाल सिन क्योकुसिन कराँते संघका नेपाल प्रमुख सूर्यबहादुर बुढाथोकीको आतिथ्य रहेको थियो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले देशका विभिन्न जिल्लाबाट आएका २२ जना अन्तर्राष्ट्रिय रेफ्रीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रममा सदस्यसचिव सूर्यलाल भण्डारीले अहिलेको विषम परिस्थितिले खेलकुद क्षेत्रललाई पछाडी धकेलेको भन्दै सबैले मिलेर यो परिस्थितिको सामना गर्नुपर्ने बताउनुभएको छ । अहिलेको विषम् परिस्थितिबाट सहज अवस्था भए लगत्तै खेलकुदका विभिन्न योजनाहरु कार्यान्वयन गरिने खेलकुदका गतिविधि गर्ने तयारीमा रहेको उहाँले बताउनु भएको छ । बागमती प्रदेश अरु ६ वटा प्रदेश भन्दा खेलकुदको उर्वरभूमि पनि रहेको उल्लेख गर्नुहुँदै स्थिति सहज भएपछि खेलाडीको विकासका साथै खेलकुदका पूर्वाधार निर्माणमा विशेष कार्य गर्ने उहाँले बताउनु भयो । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले मकवानपुर जिल्ला राष्ट्रिय खेलाडी उत्पादन गर्ने देशकै प्रमुख जिल्ला मध्ये एक भएको बताउनुभयो ।