हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले मानवसेवा आश्रमलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले हेटौंडास्थित मानवसेवा आश्रममै पुगेर आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
मकवानपुर जिल्लालाई सहयोगापेक्षी सडकमानवमुक्त जिल्ला घोषणा गर्ने क्रममा नै सहयोग गर्ने प्रतिवद्धताअनुसार सोमबार सहयोग रकम हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष उप्रेतीको भनाइ छ । कोरोना कहरका कारण आश्रममा आश्रितलाई खाना खुवाउन समेत समस्या हुने देखिएको अवस्थामा पालिकाले पूर्वघोषित सहयोग गरेको उप्रेतीले बताउनुभएको छ । सहयोग रकमको चेक हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिकेको पनि उपस्थिति रहेको थियो ।
मानवसेवा आश्रमको हेटौंडास्थित केन्द्रीय आश्रममा अहिले एक सय ५० जना आश्रित छन् । २०८२ सालमा नेपाललाई नै सहयोगापेक्षी सडकमानवमुक्त देश बनाउने महत्वाकांक्षी लक्ष्यसहित मानवसेवा आश्रमले देशका विभिन्न स्थानमा आश्रम स्थापना गरिरहेको छ । सम्बन्धित पालिका, जिल्ला र प्रदेश सरकारसँग समन्वय गर्दै मानवसेवा आश्रमले आश्रमको स्थापना तथा नियमित सञ्चालन गर्दै आएको छ ।