Home मुख्य समाचार मनहरी गाउँपालिकाद्वारा मानवसेवा आश्रमलाई पाँच लाख सहयोग

मनहरी गाउँपालिकाद्वारा मानवसेवा आश्रमलाई पाँच लाख सहयोग

सहयोग रकमको चेक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी (बीचमा) लाई हस्तान्तरण गर्नुहुँदै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले मानवसेवा आश्रमलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले हेटौंडास्थित मानवसेवा आश्रममै पुगेर आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।

मकवानपुर जिल्लालाई सहयोगापेक्षी सडकमानवमुक्त जिल्ला घोषणा गर्ने क्रममा नै सहयोग गर्ने प्रतिवद्धताअनुसार सोमबार सहयोग रकम हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष उप्रेतीको भनाइ छ । कोरोना कहरका कारण आश्रममा आश्रितलाई खाना खुवाउन समेत समस्या हुने देखिएको अवस्थामा पालिकाले पूर्वघोषित सहयोग गरेको उप्रेतीले बताउनुभएको छ । सहयोग रकमको चेक हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिकेको पनि उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रमको हेटौंडास्थित केन्द्रीय आश्रममा अहिले एक सय ५० जना आश्रित छन् । २०८२ सालमा नेपाललाई नै सहयोगापेक्षी सडकमानवमुक्त देश बनाउने महत्वाकांक्षी लक्ष्यसहित मानवसेवा आश्रमले देशका विभिन्न स्थानमा आश्रम स्थापना गरिरहेको छ । सम्बन्धित पालिका, जिल्ला र प्रदेश सरकारसँग समन्वय गर्दै मानवसेवा आश्रमले आश्रमको स्थापना तथा नियमित सञ्चालन गर्दै आएको छ ।

Exit mobile version