हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आज वार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले जिसस मकवानपुरको स्थानीय तहसँगको समन्वय उत्कृष्ट रहेको बताउनुभयो ।
जिसस मकवानपुरले कोरोना महामारीको बिचमा पनि उल्लेख्य समन्वय गरेको भन्दै मुख्यमन्त्री पौडेलले स्थानीय तहहरुको कामलाई सहज बनाउन अझ भूमिका खेल्नुपर्ने बताउनुभयो । स्थानीय सरकारको कामको अनुगमन गर्दै देखिएका कठिनाईहरु फुकाउन जिल्ला समन्वय समितिलाई उहाँले आग्रह पनि गर्नुभएको छ ।
यस्तै फरक प्रसङ्गमा मुख्यमन्त्री पौडेलले अहिले गाँजा खेती खुल्ला गर्नुपर्ने कुरा जताततै उठेको बताउँदै यसलाई खुल्ला गर्न आवाज निकाल्नेहरुले नै जिम्मा लिन अग्रसरता देखाउनुपर्ने बताउनुभयो । यसबारे तीनैतहको सरकारको भने आधिकारीक धारणा आइनसकेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । यस्तै जिसस मकवानपुरले आज आफ्नो वार्षिक समिक्षा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाई, खेलकुदतर्फ अन्तराष्ट्रिय पदक विजेता हेटौंडाका नारायण थिङ, हेटौंडा अस्पतालको प्रमुख डा. प्रविण श्रेष्ठ, केदारप्रसाद चौलागाई र ड्रागन खेती गर्न प्रोत्सानका लागि ड्रागन खेती गरेका हरिशरण नेपाललाई सम्मान गरेको छ । यस्तै संघसंस्था तर्फ उद्योग परिसङ्ग बागमती प्रदेश, उद्योग वाणिज्य संघ मकवानपुर, प्लान नेपाल, सिसिजि नेपाल, श्री कृष्ण प्रणामी सहयोग नेपाललाई सम्मान गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, बागमती प्रदेश सभाका सदस्यहरु प्रेम बहादुर पुलामी, ओम ग्लान, सन्त बहादुर प्रजा लगायत मकवानपुरका सबै स्थानीय तहका प्रमुख-उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।