हेटौंडाः मकवानपुरको पूर्वीक्षेत्र बागमती गाउँपालिकालाई पूर्ण विद्युतीय क्षेत्र घोषणा गर्ने तयारी भएको छ । नेपाल विद्युत प्राधिकरण केन्द्र, बागमती गाउँपालिकाले यसको तयारी अगाडि बढाएका छन् । भौगोलिक विकट मानिने बागमती गाउँपालिकाको ९ वटै वडामा अहिले विद्युतीय सेवा पुगेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभएको छ ।
गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ९ को केही स्थानमा विद्युत नपुगेको उहाँले बताउनुभयो । अबको एक हप्तामै वडा नम्बर ५ को सबै स्थानमा पनि विद्युत पुग्ने उहाँले बताउनुभयो । त्यस्तै २०७८ साल बैशाख महिनासम्ममा बागमती गाउँपालिकाको घरघरमा बिजुली पुग्ने उहाँले बताउनुभयो । बागमती गाउँपालिका पूर्ण विद्युतीकरण हुने अन्तिम चरणमा पुगेको बताउँदै काठको पोलमुक्त स्थानीय तह बन्ने अध्यक्ष घलानले बताउनुभयो । गाउँपालिकामा भएका सबै काठको पोल हटाइएको छ । बागमती गाउँपालिकाको हरेक वडा कार्यालयहरुमा बिजुली बत्ति पुगेपनि जनताको घरघरमा बिजुली बत्ति छिट्टै पुग्ने अध्यक्ष घलानको बताउनुभयो ।
हालसम्म केन्द्र सरकारको १३ करोड र बागमती गाउँपालिकाको ३ करोड रुपैयाँ विद्युत विस्तारमा खर्च गरेको उहाँले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा बागमती गाउँपालिकाले विद्युत क्षेत्रमा आफै काम गर्दै आएको छ । बागमती गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष रहर सिंह थिङका अनुसार आफ्नो वडाको सबै गाउँमा विद्युतको सेवा पुगेको छ । गाउँपालिकाको वडा नम्बर ३, ५ र ९ को केही स्थानमा पुग्न बाँ की भएपनि यो वर्षसम्म पुग्ने उहाँले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगन्द्र ठाकुरले पनि आउँदो बैशाखसम्म बागमती गाउँपालिका पूर्ण विद्युतीकरण भएको स्थानीय तह घोषणा हुन सक्ने बताउनुभयो । उहाँले अहिले बागमती गाउँपालिकामा विद्युत विस्तारको काम तीव्र रुपले भइरहेको बताउनुभयो । स्थानीय सरकारले पनि ठूलो रकम खर्चेर सबै वडामा विद्युत विस्तार गर्न थालेको उहाँको भनाइ छ । यस्तै बागमती गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको भवन पनि बनिसकेको उहाँले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण कार्यालयमा कर्मचारी गएर काम सञ्चालन गर्न नसकिएको भन्दै अब छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
यस्तै अहिले मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिका बाहेक ८ स्थानीय तहमा स्मार्ट मिटर जडान गरिँदैछ । औद्योगिक क्षेत्रका थ्रि फेज लाइनमा मात्र अहिले स्मार्ट मिटर जडान भइरहेको उहाँले बताउनुभयो । वितरण केन्द्र हेटौंडा शाखाले १ हजार २ सय स्मार्ट मिटर जडान गर्ने कार्य अबको २ महिनाभित्र सकाउने उहाँले जानकारी दिनुभयो । हालसम्म ४ सय ३८ स्मार्ट मिटर जडान भइसकेका छन् । स्मार्ट मिटर जडान भएपछि वितरण केन्द्र हेटौंडाबाटै मिटर रिडिङ गर्न मिल्ने, विद्युत लाइन काट्न मिल्नेछ ।