हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले असारे विकासको परिपाटीमा सुधार ल्याउन सुझाव दिनुभएको छ । चालु आर्थिक वर्षको चौमासिक अनुगमनका क्रममा मङ्गलबार जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अनुगमनका क्रममा उहाँले असारे विकासका कारण समयमै काम सम्पन्न गर्न नसक्दा विभिन्न समस्याहरु आएकाले समयमै योजना कार्यान्वयन गर्न सुझाव दिनुभयो।
जिसस प्रमुख खुलालले पहिलो चौमासिक योजना कार्यान्वयनका लागि पूर्व तयारीको समय भएकाले यो समयमा लागत अनुमान तयार गर्ने, उपभोक्ता समिति गठन गर्ने, सम्झौता गर्ने कार्य पूरा गरेर दोस्रो चौमासिकबाट बजेट कार्यान्वयनमा जान सुझाव दिनुभयो । उहाँले व्यवस्था परिवर्तन भए पनि अवस्था भने अझै परिवर्तन हुन नसकेको भन्दै पहिलेको जस्तै असारे विकासको शैलीलाई परिवर्तन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले विकासको अवधारणा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले असारे विकास कुरेर बसेकै कारण पनि यो वर्ष धेरै योजनाहरु कोरोना महामारीका कारण सम्पन्न हुन नसकेको भन्दै यसबाट पाठ सिक्दै आगामी वर्ष योजनाहरु समयमै सम्पन्न गर्ने गरी अगाडि बढ्न सुझाव दिनुभयो ।
प्रमुख खुलालले विकासको अवधारणा परिवर्तन गर्दै भौतिक विकास मात्र नभई सामाजिक चेतना बृद्धि गर्नेतर्फ समेत ध्यान दिन सुझाव दिनुभयो । उहाँले सभ्य समाज निर्माणमा ध्यान दिन, बालमैत्री स्थानीय तह निर्माण गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले जिल्ला सभाबाटै पारित गरिएको र प्रदेश सरकारले समेत बालमैत्री प्रदेश निर्माण गर्ने लक्ष्य लिएको भन्दै बालमैत्रीका ३९ वटा सूचकहरु पूरा गर्नेतर्फ लाग्न सुझाव दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिदर हुमागाईले जिल्ला समन्वय समितिबाट नियमित अनुगनका लागि आग्रह गर्नुभयो । उहाँले नियमित अनुगमनले स्थानीय तहलाई पृष्ठपोषण पाईने हुँदा यसको निरन्तरताका लागि आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाले सन्तुलित विकासको अवधारणा अनुसार भौतिक, सामाजिक र आर्थिक विकासमा सक्दो ध्यान दिएर दिगो विकास र सुशासन सहितको समृद्धि प्राप्तिका लागि काम गरेको समेत बताउनुभयो । उहाँले असारे विकासको अन्त्य गर्न यो वर्ष चैत्र महिनासम्म सबै योजनाहरु सम्पन्न गर्ने गरी योजना बनाएको बताउनुभयो । अध्यक्ष हुमागाईले विभिन्न समस्याहरुका विषयमा मकवानपुरका स्थानीय तहहरुले साझा धारणा बनाएर जानुपर्ने र यसमा जिससलाई सहजीकरण गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले चालु आर्थिक वर्षका लागि ६८ करोड २६ लाख ६३ हजार बजेट विनियोजित भएकोमा हालसम्म करिब १० प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षका लागि समयमै बजेट खर्च गर्नका लागि उपभोक्ता समिति गठन गरेर सम्झौताको क्रम समेत सुरु भइसकेकोले समयमै बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर ३ र ४ का वडाअध्यक्षले गाउँपालिकामा भौगोलिक विकटताका कारण खानेपानीको समस्या रहेको, गाउँबाट बसाईसराई गर्नेलगायतका समस्या रहेको बताउनुभयो । यसका लागि गाउँपालिकाले व्यवस्थित कार्ययोजनाका साथ काम गरेको समेत उहाँहरुले बताउनुभयो । अनुगमन टोलीमा जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, सीता अधिकारीलगायतको सहभागिता थियो ।