हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तहहरु आर्थिक रुपमा सक्षम हुन जरुरी रहेको बताउनुभएको छ । आइतबार बकैया गाउँपालिकामा अनुगमनका क्रममा उहाँले स्थानीय तहहरु आर्थिक रुपमा सक्षम बन्न जरुरी रहेको बताउनुभएको हो ।

प्रमुख खुलालले जनतालाई सिंहदरबारको प्रत्याभूति दिलाउनका लागि स्थानीय तहहरुले स्रोतको खोजी गरेर आम्दानी बृद्धि गर्न योजनाबद्ध ढंगले काम गर्नुपर्ने र आम्दानी बृद्धि गरेर आर्थिक रुपमा सक्षम बन्नु पर्ने बताउनुभयो । उहाँले स्थानीय तहहरु दिगो विकासका लक्ष्य प्राप्ती र सुखी नेपाली समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने समेत बताउनुभयो । उहाँले समाजको सोचलाई उन्नत बनाउन सक्नुपर्ने भन्दै दिगो र टिकाउ विकासमा स्थानीय तहहरुलाई लाग्न आग्रह गर्नुभयो । जिल्ला समन्व्य समितिले चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको अनुगमनका क्रममा आइतबार बकैया गाउँपालिकाको अनुगमन गरेको हो । अनुगमनमा गाउँपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट कार्यान्वयनका लागि गरेका काम (लागत अनुमान, उपभोक्ता समिति गठन, सम्झौताको अवस्था, कोभिडको प्रभाव) लगायत विषयमा जानकारी लिनुका साथै आवश्यक परामर्श समेत दिएको छ ।

अनुगमन टोलीलाई बकैया गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए । गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जिससबाट भएको अनुगमन प्रभावकारी भएको बताउनुभयो । हामी कहाँ छौं भन्ने मूल्याङ्कन गर्न र कसरी अगाडि बढ्ने भन्ने बारेमा पहिलो चौमासिकमा भएको अनुगमनले प्रभावकारी काम गर्ने उहाँले बताउनुभयो । अनुगमनले स्थानीय तहलाई झक्झकाउने काम गर्ने उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले चालु आर्थिक वर्षका लागि कुल ७१ करोड ४७ लाख ६५ हजार बराबरको बजेट पारित गरेको जानकारी दिनुभयो । उहाँले बजेट कार्यान्वयनका लागि लागत तयारी, उपभोक्ता समिति गठन, सम्झौता लगायतका काम अगाडि बढेको जानकारी दिनुभयो । उहाँले आगामी मंसिरसम्म ३३ वटा ठूला योजनाहरु सम्झौता गर्ने गरी काम अगाडि बढाइएको बताउनुभयो । यस्तै असोज २० गतेसम्म सबै योजनाहरुको उपभोक्ता समिति गठनको समयावधि दिएर समयमै बजेट कार्यान्वयन गर्ने गरि काम अगाडि बढाइएको बताउनुभयो ।

उहाँले गाउँपालिकाले हालसम्म १६ वटा ऐन, ४ वटा नियमावली र २२ वटा कार्यविधि÷निर्देशिका गरी ४७ वटा कानून निर्माण गरेको बताउनुभयो । गाउँपालिकाले सुशासनका सन्दर्भमा सबै वडा कार्यालय र गाउँपािलकामा गुनासो पेटीका राखेको, सबै वडालाई विद्युतीय प्रणालीमा अवद्ध गराउन लागिएको, विद्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको बताउनुभयो ।

सो क्रममा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले स्थानीय तहबाट जनताले पाउने सेवा सुविधा राम्रोसँग प्रवाह भएको, विकास निर्माणका कार्यहरु द्रूत रुपमा अगाडि बढेको, विद्युत विस्तार, सडक सञ्जाल, स्वास्थ्य, शिक्षा, कृषिलगायतका क्षेत्रमा व्यवस्थित काम भएको बताउनुभएको थियो । उहाँहरुले यी सबै हुँदा हुँदै पनि केन्द्रिय तथा प्रदेश सरकारबाट संघीयत खुम्च्याउने कामहरु भएको गुनासो समेत गर्नुभयो । छाम्दा भेटिने र उभिँदा देखिने स्थानीय सरकारलाई खुलेर काम गर्ने वातावरण सृजना गर्नुपर्ने उहाँहरुको भनाइ थियो । उहाँहरुले वन कार्यालयका कारण विकास निर्माणको काममा अवरोध सृजना भएको साथै विभिन्न एकल अधिकारमा संघ र प्रदेश सरकारले हस्तक्षेप गरेका कारण समस्या भएको बताउनुभयो । छलफलका क्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले स्थानीय तहलाई सक्षम बनाउन जिल्ला समन्वय समिति मकवानपुरले सहजीकरण गरेको बताउनुभयो । अनुगमन टोलीमा जिसस सदस्य देवराज रिमाल, नायब सुब्बा उपेन्द्र पोख्रेलगायतको सहभागिता थियो ।