हेटौंडाः निजी विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षाको शूल्क निर्धारणको विषयमा हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास समितिले आइतबार सरोकारवालासँग छलफल गरेको छ । हेटौंडा उपमहानगरपालिकाकै सभाहलमा आयोजना गरिएको छलफलमा उपमहानगरपालिकाले प्रस्ताव गरेको शूल्कमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरले असहमति जनाएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका बेला बन्द रहेका विद्यालयले वैकल्पिक माध्यमको रुपमा अनलाइनमार्फत पठनपाठन गरेर मनलाग्दी शूल्क असुलीरहेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित भएपछि हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास समितिले निकासका लागि सरोकारवालासँग आयोजना गरेको छलफल दिउँसो १ बजे सुरु भएर साँझ ५ बजेसम्म चले पनि प्याव्सन सहमतिमा आउन सकेन ।

आन्दोलनरत विद्यार्थीहरु शुक्रबार हेटौंडा उपमहानगरपालिकामा प्रदर्शन गर्दै । फाइल तस्वीर ।

सामाजिक विकास समितिका संयोजक अनिल बानियाँका अनुसार अनलाइन शिक्षाका विषयमा भइरहेको विवाद र विद्यार्थी संगठनहरु आन्दोलित समेत भएको बेलामा सरोकारवालासँग छलफल गरेको हो । हेटौंडा उपमहानगरपालिकाले प्रस्ताव गरेको शूल्कका बारेमा उल्लेख गर्न नचाहनुभएका सामाजिक विकास समितिका संयोजक बानियाँले उपमहानगरको प्रस्तावलाई केही सरोकारवालाले सकारात्मक रुपमा लिएको र केही सरोकारवालाले नकारात्मक रुपमा लिएको बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले भने कक्षा १ मा मासिक ११ सय रुपैयाँ र कक्षा १० मा १६ सय रुपैयाँ शूल्क प्रस्ताव गरिएको छ । अनलाइन कक्षा सञ्चालन गरेको अवधिको मात्रै शूल्क लिन पाउने गरी उपमहानगरपालिकाले गरेको शूल्क प्रस्तावमा प्याव्सनका पदाधिकारीले असहमति जनाएको बताइएको छ ।

प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीसँग सम्पर्क गर्न खोज्दा उहाँको फोन सम्पर्क हुन सकेन । यता प्याव्सन हेटौंडा उपमहानगर समितिका अध्यक्ष राजकुमार नहर्कीले उपमहानगरपालिकाले प्रस्ताव गरेको शूल्क विद्यार्थी संगठनको प्रस्ताव भएको दावी गर्नु भएको छ । ‘विद्यार्थी संगठनको प्रस्तावलाई उपमहानगरले प्रस्तुत गरेपछि हामी सहमत हुन सकेनौं’, प्याव्सन हेटौंडा उपमहानगर समितिका अध्यक्ष राजकुमार नहर्कीले भन्नुभयो । प्याव्सनले अहिले विद्यालयले कायम गरेको शूल्कको ७५ प्रतिशत शूल्क लिन पाउनुपर्ने माग गरेको नहर्कीको भनाइ छ ।

विद्यार्थी संगठनले भने शैक्षिक सत्र २०७६ मा लिइएको शूल्कको ७० प्रतिशत मात्रै लिनुपर्ने, भर्ना शूल्कमा स्वभाविक शीर्षकमा मात्रै शूल्क लिनुपर्ने, अनलाइन कक्षा सञ्चालन भएको अवधिको मात्रै शूल्क लिनुपर्ने माग गरेको नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति राजु खतिवडाले बताउनुभएको छ । कोरोना महामारीका कारण आम अभिभावक जीविकाकै जोखिममा रहेका बेला निजी विद्यालय सञ्चालकहरुले पठनपाठन नै हुन नसकिरहेको बेलामा शिक्षण शूल्क बढाएर पठनपाठन नभएको अवधिको पनि शूल्क असुलिरहेको र भर्नामा पनि जथाभावी शीर्षकमा शूल्क असुलीरहेको विषयमा विद्यार्थीको ध्यानाकर्षण भएको सभापति खतिवडाले बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) मकवानपुरका संयोजक किसन घिसिङले आइतबार भएको छलफलको प्रस्ताव उपमहानगरपालिकाको शिक्षा समितिमार्फत नगर कार्यपालिकामा पेश गर्ने सहमति भएको जानकारी दिनुभयो । आन्दोलनरत अनेरास्ववियू र नेवि संघले आइतबार उपमहानगरमा भएको छलफलबाट आंशिक उपलब्धी भएको उल्लेख गर्दै निजी विद्यालयको लेखा शाखामा तालाबन्दी गर्ने कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी गराएको छ । आइतबार साँझ अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङ र नेवि संघ मकवानपुरका सभापति राजु खतिवडाको संयुक्त हस्ताक्षर भएको विज्ञप्तिमा निजी विद्यालय बाहेक निजी दश जोड दुई र क्याम्पस तहका विद्यार्थीका मुद्दा र माग कायमै रहेको स्पष्ट पारेको छ ।