हेटौंडाः हेटौंडामा आजबाट सहुलियत पसल सञ्चालनमा आएको छ । दशै लक्षित सहुलियत पसल हेटौंडाको बुद्धचोक नजिकैको चन्दन मिनी मार्केटमा साल्टट्रेडिङ कर्पोरेशन हेटौंडाले सञ्चालनमा ल्याएको हो । आज बिहान १० बजेबाट सञ्चालनमा आएको सहुलियत पसलमा बिक्रिको लागि नुनमात्रै राखिएको छ ।

साल्टट्रेडिङ कर्पोरेशन मकवानपुरका प्रमुख शैलेश पाण्डेका अनुसार सहुलियत पसलमा चिनी र नुन उपलब्ध हुने भनिएता पनि आज पहिलो दिन नुन मात्र उपलब्ध गराइएको छ । चिनी भने अबको केही दिनपछि मात्रै बिक्रिको लागि राखिने भएको हो । भारतबाट आउने चिनी नआएका कारण अहिले बिक्रिको लागि उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो ।

सहुलियत बजारमा प्रतिव्यक्ति नुन आजबाट चार किलो खरिद गर्न पाइनेछ । बजार मुल्य २५ रुपैंया रहेको नुन प्रतिकिलो १८ रुपैयाँमा सहुलियत पसलबाट खरिद गर्न सकिने जनाइएको छ । यस्तै बजारमा ८५ रुपैयाँमा बिक्रि भइरहेको चिनी, सहुलियत पसलबाट छिट्टै ७० रुपैयाँमा खरिद गर्न सकिने साल्टट्रेडिङ मकवानपुरका प्रमुख पाण्डेले बताउनुभयो ।