हेटौंडाः हेटौंडा अस्पतालमा डायलासिस र भेन्टिलेटर सेवा सुरु गरिने भएको छ । सोमबार डायलासिस गर्ने एउटा मेसिन अस्पतालमा जडान भएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिनुभयो । जडान भएपनि परीक्षण हुन बाँकी रहेको भन्दै आउँदो हप्ताबाट डायलासिस सेवा सुचार हुने उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले पनि ३ थान डायलासिस मेसिन उपलब्ध गराउने भएको उहाँले जानकारी गराउनुभयो ।

हेटौंडा अस्पतालमा भेन्टिलेटर जडान गरिएको छ । श्वासप्रश्वासमा समस्या भएकाहरुलाई राख्न भेन्टिलेटर जडान गरिएको हो । केही समयअघि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ६ थान भेन्टिलेटर जडान भइसकेको उहाँले बताउनुभयो । अब अन्तिम परीक्षण भएपछि भेन्टिलेटरको सेवा पनि सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । अहिले जिल्लामा भेन्टिलेटरको अभाव हुँदा श्वासप्रश्वासमा समस्या भएका कोरोना सङ्क्रमितहरु तथा अक्सिजन कम भएका बिरामीहरु चितवन र काठमाडौं जान बाध्य छन् । त्यसको अब अन्त्य हुने हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले बताउनुभयो ।