हेटौंडाः हेटौंडा–१०, न्युरेनीका ६ जनालाई रेबिज विरुद्धको खोप लगाइएको छ । शनिबार रेबिज रोगका कारण मृत्यु भएका शान्त बहादुर मार्गनको परिवारका ४ जना र २ जना छिमेकीलाई रेविज विरुद्धको खोप लगाइएको हो ।
मार्गनकी श्रीमती, छोरा, बुहारी र नातीसहित छिमेकी ३ जनालाई रेबिज विरुद्धको खोप लगाउन १० नम्बर वडा कार्यालयबाट सिफारिस गरिएको वडा सदस्य ईन्द्रप्रसाद नेपालले जानकारी दिनुभयो । मार्गनकी श्रीमतीलाई काठमाडौंको टेकुबाट नै रेबिज विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । रेविज विरुद्धको खोप ३ दिनसम्म लगाउनुपर्ने हुन्छ । गत बैशाखमा कुकुरले टोकेर रेबिज रोग लागेका शान्त बहादुर मार्गन केही दिन अगाडि मात्रै अस्पताल गएका थिए ।
६ महिनासम्म रेबिज रोगी भएर बसेका मार्गन को–कोसँग सम्पर्कमा आए भनेर स्थानीय त्रसित बनेका छन् । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले अब कति जनालाई रेबिज विरुद्धको खोप लगाउनु पर्छ भनेर डाक्टरसँग छलफल गर्नुभएको हेटौंडा–१० का वडा सदस्य नेपालले बताउनुभयो । डाक्टरको सल्लाह अनुसार धेरै नै नजिक भएकाहरुको मात्रै रेबिज विरुद्धको खोप लगाइएको हो ।