हेटौंडाः हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्ड हलका लागि १८ हजार रुपैयाँ बराबरको रंग र १० हजार रुपैयाँ नगद सहयोग प्राप्त भएको छ ।

हरिप्रसाद रुपाखेतीको पहलमा हटिया चिसापानी निवासी विराज पेन्ट्सका मार्केटिङ अफिसर राजु ढकाल मार्फत विराज पेन्ट्स भरतपुर चितवनबाट १२ हजार रुपैयाँ बराबरको ४० लिटर रंग र प्रकाश बस्नेतको पहलमा व्यवसायी जयकाली हार्डवेयरका सञ्चालक कृष्ण बहादुर कार्कीबाट ६ हजार रुपैयाँ बराबरको २० लिटर बर्जर कम्पनीको पेन्ट्स सहयोग प्राप्त भएको छ ।

त्यसैगरी पूर्व बक्सिङ खेलाडी नरेन्द्र थापाले आफ्नो दाई गणेश थापा मार्फत १० हजार रुपैयाँ सहयोग गर्नुभएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो । पिप्ले युवा क्लबले निर्माण गरिरहेको कभर्ड हलका लागि दैनिकजसो सहयोग प्राप्त भइरहेको छ । पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्ड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।