हेटौंडा उपमहानगरपालिकाले साउन २६ गते नगर खेलकुद विकास समितिको अध्यक्षमा हेटौंडा–२ का चन्द्र शाहीलाई नियुक्त गर्यो । अध्यक्ष नियुक्त भए पनि कोभिडका कारण शाहीले पदभार ग्रहण गर्न पाउनुभएको छैन । पदभार ग्रहण गर्दै नगर खेलकुद विकास समितिका सदस्य समेत नियुक्त गरी नगरको खेलकुदको विकासमा के कस्ता योजना बनाउनुभएको छ भनी समाज सम्पादक सुरेश श्रेष्ठले नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीसँग गर्नुभएको कुराकानीः
समाजः नगर खेलकुद विकासको अध्यक्षमा नियुक्त हुनु भएको छ । नगर खेलकुद विकासको अध्यक्षमा रुपमा नियुक्तिपछि तपाईले अहिले के–के काम सुरु गर्नुभयो ?
शाहीः मैले नियुक्ति पाएपछि लगभग आधिकारिक कार्यक्षेत्र पाएको छैन । नियुक्ति पाएपछि पदभार ग्रहण गर्नुपर्ने हुन्छ । त्यो अहिलेसम्म भएको छैन । अब पदभार ग्रहण गरिसकेपछि कार्ययोजना बनाएर अगाडि बढ्ने कोशिसमा गर्नेछु ।
समाजः पदभार ग्रहण गर्ने, पदभार ग्रहण गराउने काम किन भएन अहिलेसम्म ?
शाहीः नगर खेलकुद विकास समितिको अध्यक्षको रुपमा नियुक्ति लिएलगत्तै निषेधाज्ञा लागू भयो । कोरोना भाइरस संक्रमणकै कारण केही दिन उपमहानगरपालिकाको कार्यालय पनि बन्द भयो । कार्यालय बन्द भएपछि कामहरु पनि ठप्प भयो । त्यसले पदभार ग्रहणको कार्यक्रम रोकिएको हो । अब केही सहज भएसँगै छिट्टै पदभार ग्रहण गर्ने र त्यसपछि योजना बनाएर काम सुरु हुनेछ ।
समाजः अध्यक्षमा तपाई नियुक्त हुनुभयो । अरु पदाधिकारी नियुक्तिको विषयमा के छलफल चलिराखेको छ ?
शाहीः नगर खेलकुद विकास समितिमा सदस्य नियुक्तिको विषयमा छलफल चलिराखेको छ । ५ जना सदस्याहरु नियुक्त गर्ने विषयमा हाम्रो छलफल चलिराखेको छ ।
समाजः उपमहानगरमा जनप्रतिनिधी निर्वाचित भएर आएको झण्डै तीन वर्षपछि खेलकुद विकास समिति गठन गर्दै तपाईलाई अध्यक्षको रुपमा नियुक्त गरियो । नियुक्तिमा किन ढिला भएको ? तपाई के बुझ्नु भएको छ ?
शाहीः यो विषयमा अस्ति छलफल भएको थियो । कानून निर्माण लगायतका कामले केही ढिलाई भएको भन्ने कुरा आएको थियो ।
समाजः के कस्ता आधारमा नगरको खेलकुदको जिम्मा पाउनु भयो भन्ने लागेको छ ?
शाहीः नगरपालिकाले एक खाले युवालाई जस्तै खेलमा लागेको युवालाई समावेश गर्ने क्रममा मलाई पनि नगरपालिकाले नियुक्ति दिएको छ । खेलकुदको क्षेत्रलाई अगाडि बढाउने सम्भावना देखेरै नियुक्त गरेको हुनुपर्छ ।
समाजः अब नगरको खेलकुदको विकासमा कसरी काम गर्ने भन्ने योजना बनाउनु भएको छ ?
शाहीः यो उपमहानगर १९ वटा वडामा छरिएको छ । यो ठूलो नगर पनि हो । यहाँ लुकेका प्रतिभाहरु धेरै छन् । त्यो लुकेको प्रतिभालाई खेलकुदमा अगाडि ल्याउने धारणा राखेका छौं । भोलिका दिनमा हाम्रो नगरपालिकाबाट ओलम्पिक खेल्न जाने खेलाडी तयार हुनुपर्छ भन्ने हाम्रो धारणा हो । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको छ ।
समाजः नगरको खेलकुदका वार्षिक कार्यक्रमहरुका बारेमा के कसरी हेर्नु भएको छ ? खेलकुदमा तत्काल गर्नुपर्ने काम के देख्नु भएको छ ?
शाहीः वार्षिक कार्यक्रमको विषयमा नगरपालिकाान सहभागी भएर छलफल गर्न पाएको छैन । पदभार ग्रहण गरिसकेपछि त्यस बारेमा छलफल हुनेछ ।