हेटौंडाः राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) का अध्यक्ष कुश कुमार जोशीले वर्तमान परिस्थितिमा प्रत्येक व्यवसायमा सचेतता जरुरी भएको बताउनुभएको छ । बिहीबार मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा भएको कोभिड—१९ बिरुद्ध व्यावसायिक तयारी सम्बन्धी अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका जोशीले सरकारले कुनै पनि जिम्मेवारीबहन गरेकोले नेपालमा सबै व्यवसाय धरापमा परेको बताउनुभयो ।

उहाँले सबै किसिमका व्यवसायीले आ—आफ्नो व्यवसायमा विभिन्न स्वास्थ्यको मापदण्ड नअपनाएर सरकारको मुख ताकेमा पछि अप्ठ्यारोमा पर्ने बताउनुभयो । नेपालमा सबै व्यवसायहरुले कर तिरेर आफ्नो जिम्मेवारी पूरा गरेको तर सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै कोरोना सङ्क्रमण रोकथाम र व्यवस्थापन गर्न सबै व्यावसायिक संघ, संस्थाहरु एक भएको र स्वास्थ्य मन्त्रालयले मानेमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्न तयार रहेको जानकारी दिनुभयो । उहाँले एनबिआईले विश्वका कोरोना सङ्क्रमण नियन्त्रण गर्न सफल भएका देशहरुको अध्ययन गरेर कुन व्यवसाय कसरी सञ्चालन गर्ने मापदण्ड तयार पारेकोले सबैलाई सो मापदण्ड अबलम्वन गर्न आग्रह गर्नुभयो ।

अन्तरक्रियामा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले काम गर्नुनपर्ने, घर बसेरै तलब आउने गिरोहहरु फेरी पनि लकडाउन र निषेधाज्ञा गर्न अग्रसर रहेको भन्दै सबै व्यवसायीलाई सचेत गराउनुभयो । उहाँले यातायात र होटल रेष्टुरेन्टमा धेरै जोखिम हुने हुनाले विशेष सावधानी अपनाउनु पर्ने बताउनुभयो । उहाँले केहि व्यवसाय अझै नखुलेको र खुलेकाहरुलाई पनि सहज अवस्था नभएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, मकवानपुर होटल एशोसिएसनका अध्यक्ष शंकरलाल श्रेष्ठ लगायत विभिन्न व्यावसायिक संघ, संस्थाहरुमा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा व्यवसायीहरुले हाल भोग्नु परेको समस्याहरुको बारेमा छलफल गरिएको थियो । मकवानपुर होटल एशोसिएसनका अध्यक्ष शंकरलाल श्रेष्ठले होटल व्यवसायी र होटलका कर्मचारीहरुलाई अन्य व्यवसायलाई भन्दा दिर्घकालिन असर परेको बताउनुभयो । उहाँले सरकारले केही निकास नदिएमा होटल व्यवसायी र कर्मचारीहरुको विचल्ली हुने बताउनुभयो ।