Home अन्तरवार्ता ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी उत्पादन गर्नेछौं’

‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी उत्पादन गर्नेछौं’

चन्द्र शाही, अध्यक्ष, नगर खेलकुद विकास समिति, हेटौंडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिकाले साउन २६ गते नगर खेलकुद विकास समितिको अध्यक्षमा हेटौंडा–२ का चन्द्र शाहीलाई नियुक्त गर्‍यो । अध्यक्ष नियुक्त भए पनि कोभिडका कारण शाहीले पदभार ग्रहण गर्न पाउनुभएको छैन । पदभार ग्रहण गर्दै नगर खेलकुद विकास समितिका सदस्य समेत नियुक्त गरी नगरको खेलकुदको विकासमा के कस्ता योजना बनाउनुभएको छ भनी समाज सम्पादक सुरेश श्रेष्ठले नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीसँग गर्नुभएको कुराकानीः

समाजः नगर खेलकुद विकासको अध्यक्षमा नियुक्त हुनु भएको छ । नगर खेलकुद विकासको अध्यक्षमा रुपमा नियुक्तिपछि तपाईले अहिले के–के काम सुरु गर्नुभयो ?
शाहीः मैले नियुक्ति पाएपछि लगभग आधिकारिक कार्यक्षेत्र पाएको छैन । नियुक्ति पाएपछि पदभार ग्रहण गर्नुपर्ने हुन्छ । त्यो अहिलेसम्म भएको छैन । अब पदभार ग्रहण गरिसकेपछि कार्ययोजना बनाएर अगाडि बढ्ने कोशिसमा गर्नेछु ।

समाजः पदभार ग्रहण गर्ने, पदभार ग्रहण गराउने काम किन भएन अहिलेसम्म ?
शाहीः नगर खेलकुद विकास समितिको अध्यक्षको रुपमा नियुक्ति लिएलगत्तै निषेधाज्ञा लागू भयो । कोरोना भाइरस संक्रमणकै कारण केही दिन उपमहानगरपालिकाको कार्यालय पनि बन्द भयो । कार्यालय बन्द भएपछि कामहरु पनि ठप्प भयो । त्यसले पदभार ग्रहणको कार्यक्रम रोकिएको हो । अब केही सहज भएसँगै छिट्टै पदभार ग्रहण गर्ने र त्यसपछि योजना बनाएर काम सुरु हुनेछ ।

समाजः अध्यक्षमा तपाई नियुक्त हुनुभयो । अरु पदाधिकारी नियुक्तिको विषयमा के छलफल चलिराखेको छ ?
शाहीः नगर खेलकुद विकास समितिमा सदस्य नियुक्तिको विषयमा छलफल चलिराखेको छ । ५ जना सदस्याहरु नियुक्त गर्ने विषयमा हाम्रो छलफल चलिराखेको छ ।

समाजः उपमहानगरमा जनप्रतिनिधी निर्वाचित भएर आएको झण्डै तीन वर्षपछि खेलकुद विकास समिति गठन गर्दै तपाईलाई अध्यक्षको रुपमा नियुक्त गरियो । नियुक्तिमा किन ढिला भएको ? तपाई के बुझ्नु भएको छ ?
शाहीः यो विषयमा अस्ति छलफल भएको थियो । कानून निर्माण लगायतका कामले केही ढिलाई भएको भन्ने कुरा आएको थियो ।

समाजः के कस्ता आधारमा नगरको खेलकुदको जिम्मा पाउनु भयो भन्ने लागेको छ ?
शाहीः नगरपालिकाले एक खाले युवालाई जस्तै खेलमा लागेको युवालाई समावेश गर्ने क्रममा मलाई पनि नगरपालिकाले नियुक्ति दिएको छ । खेलकुदको क्षेत्रलाई अगाडि बढाउने सम्भावना देखेरै नियुक्त गरेको हुनुपर्छ ।

समाजः अब नगरको खेलकुदको विकासमा कसरी काम गर्ने भन्ने योजना बनाउनु भएको छ ?
शाहीः यो उपमहानगर १९ वटा वडामा छरिएको छ । यो ठूलो नगर पनि हो । यहाँ लुकेका प्रतिभाहरु धेरै छन् । त्यो लुकेको प्रतिभालाई खेलकुदमा अगाडि ल्याउने धारणा राखेका छौं । भोलिका दिनमा हाम्रो नगरपालिकाबाट ओलम्पिक खेल्न जाने खेलाडी तयार हुनुपर्छ भन्ने हाम्रो धारणा हो । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको छ ।

समाजः नगरको खेलकुदका वार्षिक कार्यक्रमहरुका बारेमा के कसरी हेर्नु भएको छ ? खेलकुदमा तत्काल गर्नुपर्ने काम के देख्नु भएको छ ?
शाहीः वार्षिक कार्यक्रमको विषयमा नगरपालिकाान सहभागी भएर छलफल गर्न पाएको छैन । पदभार ग्रहण गरिसकेपछि त्यस बारेमा छलफल हुनेछ ।

Exit mobile version