हेटौंडाः हेटौंडा–५ स्थित जीएस निकेतन माविमा अध्ययनरत विद्यार्थीहरुको सुनौलो बिहानी समूहले मकवानपुरका हाँस्यव्यङ्ग्यकार आरसी रिजाललाई ‘ज्ञानदीप हाँस्यव्यङ्ग्य सम्मान–२०७७’ समर्पण गर्ने भएका छन् । भोलि ८५ औं भैरव अर्याल जयन्तीको सन्दर्भमा सुनौलो बिहानी समूहले रिजाललाई १० हजार एक रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रसहित सम्मान गर्न लागेको जीएस निकेतन माविका सहायक प्रधानाध्यापक एवम् अतिरिक्त क्रियाकलाप प्रमुख दीपक गौतमले जानकारी दिनुभएको छ ।

कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीको सहभागितामा विभिन्न १६ वटा समूह मध्येको साहित्यिक क्रियाकलाप गर्ने सुनौलो बिहानी समूहले गत वर्ष रामचन्द्र फुर्सतीलाई सम्मान गरेको थियो । वर्तमान विषम् परिस्थितिमा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरी सम्मान समर्पण गरिने सहायक प्रधानाध्यापक गौतमले जानकारी दिनुभयो । भोलि सम्मान समर्पणका साथै विद्यार्थीहरूद्वारा निर्मित भैरव अर्यालको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि विद्यार्थीहरूद्वारा हाँस्यव्यङ्ग्य कविता वाचन÷प्रहसन गरिने बताइएको छ ।
यस्तै ‘कवितामा हाँस्यव्यङ्ग्य’ विषयक प्रयोगात्मक प्रशिक्षण हाँस्यव्यङ्ग्यकार मिनप्रसाद लामिछाने, ‘निबन्धमा हाँस्यव्यङ्ग्य’ विषयक प्रयोगात्मक प्रशिक्षण हाँस्यव्यङ्ग्यकार राजकुमार लामिछाने, ‘नेपाली साहित्यमा भैरव अर्यालको योगदान’ विषयक विचार साहित्यकार निमेष निखिल, हाँस्यव्यङ्ग्य लेखन किन ?’ विषयक विचार हाँस्यव्यङ्ग्यकार आरसी रिजालले प्रस्तुत गर्नुहुनेछ । सम्मान समर्पण तथा कार्यक्रमको व्यवस्थापन सम्पूर्ण विद्यार्थीबाटै हुने बताइएको छ । यसअघि जीएस निकेतनका विद्यार्थीले मोतिराम भट्ट र भानुभक्त आचार्यको जन्मजयन्तीमा पनि साहित्यिक कार्यक्रमको आयोजना गरेका थिए ।











