असिम सागर

कवि तथा गजलकार असीम सागरको पछिल्लो समय कविता सङ्ग्रह ‘क’ बजारमा आएको छ । फाइनप्रिन्ट प्रकाशनले उक्त कविता सङ्ग्रहलाई बजारमा ल्याएको हो । २०२८ साल श्रावण ४ गते अर्घाखाँचीमा जन्मिनुभएका असीम सागर नेपाली कवितामा सुपरिचित नाम हो । उहाँको यसअघि ‘जून पोखिएको रात’ गजल सङ्ग्रह (सन् २००८), ‘अस्तित्वका आवाजहरू’ गजल सङ्ग्रह (सन् २००९) र एकल गजल एल्बम ‘स्वर्गको सपना’ (सन् २००९) मा प्रकाशित छ । उहाँ मूलतः गजल लेखनबाट बिस्तारै कविता लेखनतिर तानिनु भएको हो । ‘कविता कसका लागि लेखिनुपर्छ ?’ भन्ने सन्दर्भमा उहाँ कविता पिँधमा परेका, समाजमा दबाइएका, तल पारिएका र आवाजविहीनहरूको आवाज बन्न सक्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । उहाँ लेख्नुहुन्छ,

कृपया त्यो सातौं तल्लाको झ्यालबाट
बाहिर नथुक्नुहोला
तल सडकपेटीमा
केही असहाय फूलेका केशहरू
हात या खुट्टा नभएका केही जोर आँखाहरू
र दृष्टिविहीन भोका पेटहरू
एक गाँस उज्यालेको पर्खाइमा छन् ।

उहाँको कवितामा आगमनको सन्दर्भ कोट्याउँदा भन्नुहुन्छ, ‘एसएलसी पास गरेपछि काम र जागिरको सिलसिलामा भारतका दिल्ली, मुम्बई, पञ्जाब, हरियाणा, नागाल्याण्ड विभिन्न प्रान्त र सहर पुग्नुभयो । होटल कोठी चौकीदार धेरै कामहरू गर्नुभयो । धागो, चप्पल, पेन्सिल, पाइप फ्याक्ट्री लगायतमा काम गर्नुभयो । दुःखका थुप्रै अध्यायहरू काट्नु भयो । कामको सन्दर्भमा गुण्डाहरूबाट पिटिएर रगत छाद्दै घर फर्किने र लुटिएर रित्तो हात घर फर्किने सम्मका दिनहरू गुजार्नुभयो । कैयन समय मालिकहरूले ज्याला नदिएर उनीहरुको काम छाडेर हिँड्नुभयो । बुबा आमाको अनुहारमा खुसी ल्याउन, परिवारको पेट पाल्न थुप्रै हण्डरहरू खाने वातावरण बन्यो । ती हण्डर र ठक्करहरूले उहाँलाई कविता लेख्न सिकायो । उहाँले सायरी, गजल हुँदै कवितासम्मको यात्रा तय गर्नुभयो । जब कविता लेख्न थाल्नुभयो, उहाँलाई साथी र स्रोताहरूले हौस्याउन थाल्नुभयो । सोही हौसलाले लेखनवृत्तमा प्रवेश गराएर पहिचान दिलाउँदै गयो । ती हौसलाहरूले उत्साहित हुनुपर्छ तर मातिनु हुन्न भन्ने सचेततामै हुनुहुन्छ उहाँ ।

आज पनि उहाँ जीवनको सङ्घर्षकै चरणमा हुनुहुन्छ । ठेलामा तरकारी बेच्नुहुन्छ तर इमान बेच्नुहुन्न । उहाँका कविताले देख्ने सपना सबैको हितकारी छ, शासकको आश्वासनको मसलेदार सपनाको उहाँ विरोध नै गर्नुहुन्छ । उहाँ लेख्नुहुन्छ,

‘जाति जाति सबैले अंश पाउने रे
म अजाति कहाँ जाउँ ? म सोच्दै छु

कि मार्छु कि मर्छु म यसै बेघर भएा
यदि मिलेन भने कहीँ ठाउँ म सोच्दैछु’

आज उभिएर पुराना दिनहरूलाई फर्किएर हेर्दा उहाँलाई माया गर्नेहरू र घृणा गर्नेहरू सबै लेखनका अजस्र स्रोत भएको अनुभूति गर्नुहुन्छ । दुबैलाई सलाम गर्न चाहनुहुन्छ ।

अन्त्यमा उहाँको ‘क’ लाई शुभकामनाका साथ उहाँकै ‘खोरबाट गुञ्जिदै भोकको गीत’
कविता

गाउँ पस्यो जंगलको बाघ
सबैले आआफ्ना भेंडाबाख्राहरु खोरमा थुने
एकछिनपछि गुञ्जिन थाल्यो खोरबाट भोकको गीत
ए गोठाला हो
तिमीहरूसँग त
भान्छाको सिलिङमा झुन्डाई राखेको
हाम्रो टाउको होला भोलिका लागि
झिरमा उनिराखेको
हाम्रा फिलाका सुकुटी होला पर्सिका लागि
र होला हाम्रै मासु बेचेको पैसाले
जोगाड गरिराखेको बासमति चामल
तर हामी भोका भेंडा बाख्राहरुलाई
घाँस खोइ ?

प्रस्तुतिःसुवास खनाल