हेटौंडाः मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह घट्दै गएको छ । गत साउन २९ गते बढेर १ हजार ५ सय २० दशमलव ०३ मिटर पुगेको पानीको सतह आजसम्म आइपुग्दा घटेर १ हजार ५ सय १८ दशमलव ०१ मिटर पुगेको कुलेखानी जलविद्युत आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
कुलेखानी प्रथम, कुलेखानी दोस्रो र कुलेखानी तेस्रो तीन वटै आयोजना निरन्तर चलेकोले गत वर्षको जति पानीको सतह नबढेको उहाँले बताउनुभयो । गत वर्षहरुको तुलनामा यस वर्ष मेसिन धेरै चलेको हो । गत वर्ष असोजमा जलाशयमा पानीको सतह बढेर १५ सय २७ दशमलव ७० पुगेको थियो । यस वर्ष साउन र भदौमा आयोजनामा १५ हजार मेगावट पर आवर जलविद्युत उत्पादन भएको थियो ।
साउन र भदौमा धेरै चलेको मेसिन पछिल्लो ३/४ दिन देखि कम चल्न थालेको छ । त्रिशुली थ्रि ए जलविद्युत आयोजनामा मेसिन परीक्षणको काम हुँदा कुलेखानी धेरै चलेको र हाल त्रिशुली थ्रि ए सञ्चालनमा आएकोले फेरी कम चल्न थालेको प्रमुख चौधरीले बताउनुभयो । त्रिशुली थ्रि ए बन्द हुँदा अर्थात गत साउन र भदौमा आयोजनामा प्रत्येक दिन २४ घण्टा नै आयोजना चलेको थियो । इन्द्रसरोवर जलाशयको अधिकतम क्षमता १ हजार ५ सय ३० मिटर रहेको छ ।
आयोजनामा मेसिन बन्द हुँदा प्रति घण्टा १ सेन्टिमिटरको दरले पानीको सतह बढ्छ भने मेसिन चल्दा २ सेन्टिमिटरको दरले घट्ने गर्दछ । कुलेखानी प्रथममा ६० मेगावाट, र दोस्रोमा ३२ मेगावाट र कुलेखानी तेस्रोमा १४ मेगावाट गरी १ सय १४ मेगावाट जलविद्युत उत्पादन क्षमता मकवानपुरमा रहेको छ । देशको विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउने कुलेखानी एकमात्र जलाशययुक्त आयोजना भएको आयोजना प्रमुख धिरेन्द्र चौधरीले बताउनुभयो ।