हेटौंडा–११, नवलपुरका सुजित विडारीले निर्माण तथा निर्देशन गर्नुभएको चलचित्र ‘ऐना झ्यालको पुतली’ एसियाकै प्रतिष्ठित बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भएको छ । फेस्टिभलको प्रमुख विधाको रुपमा रहेको ‘न्यु करेन्ट सेक्सन’ मा छनोट भएका दुई उत्कृष्ट चलचित्रले ३० हजार अमेरिकी डलर पुरस्कार समेत प्राप्त गर्नेछ । भर्चुअल माध्यमबाट अक्टोबर २१ देखि ३० सम्म सञ्चालन हुने फिल्म फेस्टिभलमा छनोट भएको चलचित्रका बारेमा समाज सम्पादक सुरेश श्रेष्ठले निर्देशक सुजित विडारीसँग गर्नुभएको कुराकानीः
समाजः तपाईद्वारा निर्देशित चलचित्र दक्षिण कोरीयाको बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । यो छनोट हुँदा तपाइलाई कस्तो महसुस भएको छ ?
बिडारीः यो बुसान इन्टरनेसनल फिल्म फेस्टिभल एसियाकै महत्वपूर्ण मानिन्छ । त्यस फेस्टिभलमा अरुपनि क्षेत्रहरु हुन्छन् । त्यस क्षेत्रहरु मध्ये सबै भन्दा महत्वपूर्ण सेक्सन फिल्म फेस्टिभल हो । मेरो फिल्मका लागि मात्रै नभएर नेपाली चलचित्र क्षेत्रलाई नै एकदमै खुसीको विषय हो । अर्को कुरा जति पनि इन्टरनेसनल फिल्म फेस्टिभलहरुमा गएका जति पनि फिल्महरु छन् ति फिल्महरु कुनै न कुनै माध्यमबाट विदेशीहरुको लगानीमा बनेका, विदेशीको सहयोग र सहकार्यमा बनेका हुन्थे । तर यो हाम्रो फिल्म सबै लगानी, सहभागिता र कलाकार सबै नेपाली मात्रै छन् । त्यसैले आफ्नै स्रोत साधनबाट पनि राम्रो फिल्म बनाउन सकिन्छ भन्ने प्रेरणा मिलेको छ ।

चलचित्र निर्देशक
समाजः यो चलचित्रको के त्यस्तो विषयले यसलाई छनोट प्रक्रियामा पुर्यायो ?
बिडारीः विदेशीहरुले कुनै त्यस्तो चलचित्र हेर्दा यो कारणले छनोट गरेको भनेर उनिहरुले भन्दैनन् । तर छनोट गर्दा चलचित्र कुन परिवेशमा बनेको छ र त्यस समुदायको मानिसहरुको जिवन पद्दति कस्तो छ, उनिहरुको सोचाइ कस्तो छ, त्यस समुदायको मानिसको दुःख सुखको भोगाई र त्यस चलचित्रको कथाको सम्बन्ध र अन्तर हेर्छ । यि कुराहरुले नै फिल्मलाई छनोटमा पार्छ ।
समाजः तपाईद्वारा निर्देशित यो चलचित्रको सार विषय के हो ?
बिडारीः एउटा दुर्गम पहाडी जिल्लाको १३\१४ वर्षको केटीले माध्यमिक शिक्षा पढ्नका लागि सदरमुकाम जानका लागि गरेको मिहिनेत नै यस फिल्मको मुख्य विषय हो । यसमा जोडिएर आउ“दा दिदी–भाइको सम्बन्ध जो मुसा–बिरालोको जस्तो हुन्छ । यस्ता यस्तै कुराहरु समेटिएका छन् ।
समाजः यो चलचित्र निर्माण गर्दा लागतको कुरा कस्तो रहयो र कस्ता खालको सहजता रह्यो ?
बिडारीः यस फिल्म निर्माणको क्रममा धेरै दुःख व्यहोरियो । हामी जति निर्माण टिम सबै नयाँ साथीहरु थियौं । त्यसको कारणले गर्दा अनुभवको कमिले गर्दा खेरी धेरै गाह्रो पनि खेप्नुप¥यो । सोचेको समय भन्दा धेरै समय सुटिङ पनि लम्बियो । बजेट पनि योजना गरिएको भन्दा धेरै खर्च भयो । त्यसले गर्दा धेरै अप्ठ्याराहरु पनि परे । हाम्रो टिममा फिल्म बनाउन पर्छ भन्ने सोच थियो त्यसले धेरै टेवा पुग्यो । यसमा समग्रमा सजिलो गाह्रो सबै भोगियो भन्नुपर्छ ।
समाजः कोभिडको कारणले चलचित्रमा धेरै समस्या छ । यो हिसाबले हेर्दा छनोटमा त फिल्म गएको छ, अब व्यावसायिक हिसाबले कस्तो देख्नु हुन्छ ?
बिडारीः यो फिल्म बनाउँदै गर्दा नै हाम्रो लक्ष्य फेस्टिभलका लागि भनेर बनाइएको होइन । महोत्सवका लागि भन्दा पनि हाम्रो नेपालीहरुलाई नै लक्षित गरी फिल्म बनाइएको हो । पहिले फेस्टिभलमा गएका फिल्महरु आलोचनात्मक हुने यहाँका दर्शकले नबुझ्ने भएको थियो यसलाई मध्यनजर गर्दै सबैले बुझ्ने किसिमले यहाँको समुदायलाई लक्षित गरी सामान्य कथा रहेको छ । हाम्रो कथा समाजको अवस्थालाई देखाउने किसिमको रहेको छ ।
समाजः अहिलेको संकटको समयमा चलचित्रको व्यावसायिक सम्बन्धमा अब यसबाट हुने आम्दानीको सम्भावना कस्तो छ ?
बिडारीः त्यो चै कसैले पनि भन्न नसक्ने खालको कुरा हो । यसमा हामीले के गर्नुपर्छ भन्ने मुख्य कुरा हो । यसमा एउटा फिल्म फेस्टिभलमा गएपछि फिल्म राम्रो छ भन्ने कुरालाई प्रयोग गर्ने लक्ष्य रहेको छ । अर्को कुरा कुनै फिल्महरु निश्चित उमेर समुहलाई तोकेर बनाइएको हुन्छ । तर यस फिल्ममा सबै परिवार नै बसेर हेर्न मिल्ने फिल्म रहेको छ । किनकि यसमा एक १३ वर्षीया बालिका, ९ वर्षका बालक र अन्य परिवारको फिल्म रहेको छ । यस्तै अनुसार हामी मार्केटिङ गर्ने योजनामा छौं ।
समाजः तपाइहरुले कोरियाको बुसान फिल्म फेस्टिभलमा भएर सहभागी हुदै हुनुहुन्छ । फेस्टिभलमा उत्कृष्ट चलचित्रको रुपमा छनोट हुन तपाईद्वारा निर्देशित चलचित्रमा के—के त्यस्ता सवल पक्षहरु छन् ?
बिडारीः सबै पक्षबाट हामीले प्रतिक्रिया पाउँदा हामीलाई जनस्तरबाट नै साधारण नै यस फिल्मको मुख्य विशेषता हो भन्ने कुरा आएको छ । त्यसैले सामान्य कुरालाई फिल्म रोलमा ल्याउनु एकदमै चुनौतिपूर्ण कुरा हो । त्यसैले हाम्रो फिल्मको मुख्य सबल पक्ष सिम्पलीटी नै हो ।