हेटौंडाः जेसिआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन मंगलबार खेर जाने बस्तुबाट व्यवसाय सञ्चालन गर्ने (वेष्ट इनटु बिजनेस) तालिमको आयोजना गर्दै साताव्यापी कार्यक्रम सम्पन्न गरिएको हो । भर्चुअल माध्यमबाट गरिएको तालिममा पुराना सामग्री अथवा बस्तुहरुलाई कसरी पुनः उपयोगमा ल्याउने भन्ने विषयमा जेसीआई धनकुटा लेडीकी निवर्तमान अध्यक्ष प्रमिसा श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जेसीआई नेपालका पूर्व अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । खेर फालिने बस्तुहरु कपडा, सिडि, बोतल लगायतका बस्तुहरुलाई गलैंचा, टि म्याट लगायतका बस्तुहरु बनाएर पुनः प्रयोग गर्न सिकाइएको थियो । कार्यक्रममा ५६ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा जेसीआई नेपालका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शोभा खरेल भट्राई, जेसीआई हेटौंडा लेडीका पूर्व अध्यक्षहरु अस्मिता श्रेष्ठ, निशा रोक्का, रश्मि बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
जेसीआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ३ वटा कार्यक्रमहरु सामाजिक दूरी कायम गरेर समुदायमा नै गएर गरिएको थियो । हेटौंडा-९ स्थित सिआन पुनस्र्थापना केन्द्रमा खाद्यान्न वितरण, स्लो स्कुटी प्रतियोगिता र रक्तदान कार्यक्रम समुदायमै गएर स्वास्थ्यका मापदण्ड पूरा गरी कार्यक्रम गरिएको जेसीआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रमका मूल कार्यक्रम संयोजक सृष्टी गोर्खालीले जानकारी दिनुभयो । उहाँले जेसीआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र सबैले साथ र सहयोग दिएकोमा धन्यावाद ज्ञापन गर्नुभयो ।