प्रतियोगितामा प्रथम हुन सफल मार्था प्रजाले बनाएको चित्र ।

हेटौंडाः ‘विपदमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सोमबार विविध कार्यक्रम गरी राष्ट्रिय बालदिवस मनाइएको छ । हेटौंडा उपमहानगरपालिका बाल अधिकार समितिको निर्णय अनुरुप हेटौंडामा अन्तरबालगृह चित्रकला प्रतियोगिता भएको ट । कोभिड–१९ ले बालबालिकामा पारेको असरका विषयमा भएको प्रतियोगितामा १० वटा बालगृहका बालबालिकाको सहभागिता रहेको नगर बाल अधिकार समिति सदस्य झबिन्द्र ज्ञवालीले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा सिविन नेपाल र बालगृहहरुको सञ्जाल (सिनेट) मकवानपुरको समन्वयमा प्रतियोगिता भएको हो । प्रतियोगितामा नारी संरक्षण केन्द्रकी बालिका मार्था प्रजा प्रथम, नेपाल बाल संगठन भिमफेदीका बालक राजु थापा मगर द्वितीय र मामाघर नेपाल मकवानपुरका बालक सुमन अछामी तृतीय भएको प्रतियोगिताका प्रमुख निर्णायक सूर्य नारायण श्रेष्ठले जानकारी दिनुभयो । बिजेताहरु र सहभागी बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप सिविन मकवानपुरले पुरस्कारको व्यवस्थापन गरेको हेटौंडा उपमहानगरपालिकाका प्रमुख महिला विकास अधिकृत विष्णु कुमारी लामिछानेले बताउनुभयो ।

यस्तै बकैया गाउँपालिका–५, कर्मचुलीमा किशोरीहरुको पहलमा बालबालिकाबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । “बालबालिकाको बाल अधिकार” विषयक वक्तृत्वकला प्रतियोगिता गन्तव्य किशोरी समूहको आयोजना र सिविन मकवानपुरको सहयोगमा भएको गन्तव्य किशोरकिशोरी सशक्तीकरण केन्द्रकी सहजकर्ता सुनिता मोक्तानले बताउनुभयो । किशोरी समूहकी अध्यक्ष मन्दिरा दोङको सभाध्यक्षतामा भएको प्रतियोगितामा ११ जना बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा बिनिता लकाई प्रथम, आशिका दोङ द्वितीय र सृष्टि मगर तृतीय भएका छन् ।