हेटौंडाः सामुदायिक विकास केन्द्र नेपालले कोभिड–१९ प्रतिकार्य स्वरुप रसुवा जिल्लाका विभिन्न स्थानमा सञ्चालित क्वोरेन्टिनको सरसफाई तथा स्वच्छताका लागि सहयोग कार्यक्रम सञ्चालन गरेको छ । यूके एडको आर्थिक सहयोगमा पूर्णिमा परियोजनाअन्तर्गत मोट म्याकडोनाल्डको व्यवस्थापनमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
सामुदायिक विकास केन्द्रले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाका गौतम बुद्ध मावि र उत्तरगया गाउँपालिकाको डाँडागाउँ, उत्तरगया सामुदायिक स्वास्थ्य इकाई तथा भुवनेश्वरी आधारभूत विद्यालयमा स्थापित क्वारेन्टिनमा खानेपानीको मर्मत, धारा जडान, शौचालयको मर्मत, नुहाउने कक्षको व्यवस्थापन, फोहोर पानीको व्यवस्थापनका लागि सोकपिटको निर्माण, सरसफाई प्रबद्र्धनका लागि डस्टबिनको व्यवस्थापन तथा संक्रमण नियन्त्रणका लागि पेडल टच ह्याण्ड वासिङ्ग स्टेशन स्थापना गरिएको छ । करिब ७० वेड क्षमताको नौकुण्ड गाउँपालिका क्वारेन्टिनलाई थप व्यवस्थित बनाउनका लागि अनुमानित ९ लाख ५२ हजार रुपैयाँ लागत अनुमानसहित पक्कि शौचालयको निर्माण कार्य पनि अघि बढेको छ । क्वारेन्टिनमा बस्ने मानिसहरुका लागि व्यक्तिगत स्वास्थ्य प्रबद्र्धनका विभिन्न २२ प्रकारका स्वास्थ्य सामग्रीसहितको कोभिड किट समेत वितरण गरिएको छ ।
कोभिड किट प्राप्त गरेपछि क्वारेन्टिनमा बस्दै आएका लाभग्राहीले खुसी व्यक्त गरेका छन् । पूर्णिमा परियोजनाअन्तर्गत नै सामुदायिक विकास केन्द्रले नौकुण्ड गाउँपालिकाका ६ वटा स्वस्थ्य चौकीहरु तथा वडा नम्बर ३ र ४ को कार्यालय परिसरमा पेडल टच ह्याण्ड वासिङ्ग स्टेशन स्थापना गरिदिएको छ । त्यसैगरी उत्तरगया गाउँपालिकाका ४ वटा स्वास्थ्य चौकीहरु तथा वडा वडा नम्बर ३, ४ र ५ को कार्यालय परिसरमा पेडल टच ह्याण्ड वासिङ्ग स्टेशन स्थापना गरिदिएको छ ।
सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक बिष्णुराज नेपालले समुदायस्तरमा कोभिड १९ को संक्रमणको खतरा बढ्दै गएकोले सो संक्रमणलाई रोक्नका लागि आवश्यक कार्य अघि बढाएको बताउनुभयो । परियोजनाका फोकल पर्सन सुकुमान डंगोलले कोभिड १९ रोगबाट बच्नका लागि नयाँ प्रबिधिको प्रयोग गरी उचित किसिमले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारको स्वस्थ्य सुरक्षा मापदण्ड अनुसार खानेपानी, स्वास्थ्य तथा स्वच्छता प्रबद्र्धनका लागि कार्य गरिरहेको जानकारी दिनुभयो ।
नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्पू साङवो तामाङ्गले पालिकाको समग्र स्वास्थ्य सेवामा सामुदायिक विकास केन्द्रको सहयोग क्वारेन्टिनमा सरसफाई तथा स्वच्छता कायम राख्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले सामुदायस्तरमा कोभिड १९ को संक्रमण रोक्नका लागि खानेपानी, स्वास्थ्य तथा स्वच्छता प्रबद्र्धनका लागि महत्वपूर्ण कार्यहरुको प्रशंसा गर्दै स्थानीय सरकारको साझेदार भई हरेक कार्यमा संस्थाको महत्वपूर्ण सहयोग रहेको स्मरण गर्नुभयो ।