हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले साहित्यिक संस्था झरना साहित्यिक परिवारलाई एक कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमका अनुसार पालिकाले बुधबार बकैया–४, जुरेलीस्थित हाटबजारको उत्तरतर्फ एक कठ्ठा जमिन उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएको छ ।
झरना साहित्यिक परिवार मकवानपुर बकैया गाउँपालिकालाई नै केन्द्र बनाएर जिल्ला र देशभर परिचित साहित्यिक संस्था बनिसकेको छ । प्राप्त जग्गामा झरनाले कार्यालयसहित सभाहल र पुस्तकालय निर्माण गर्ने झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष गौतमले बताउनुभएको छ । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैया गाउँपालिका अध्यक्ष एवम् झरनाका सल्लाहकार दामोदर खनालको प्रमुख आतिथ्य तथा बकैया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजन दंगाल तथा वडा नम्बर ७ का अध्यक्ष रामकाजी लामिछानेको विशेष आतिथ्य एवम् बकैया गाउँपालिकाका सम्पूर्ण राजनीतिक दलका नेतृत्व, समाजसेवी व्यक्तित्वका साथै झसाप सल्लाहकारहरूको विशेष उपस्थितिमा बुधबार गाउँपालिकाले जग्गा उपलब्ध गराउने निर्णय भएको हो ।
जग्गा प्राप्तिसँगै छिट्टै नै भवन निर्माण कार्य गरिने उल्लेख गर्नुहुँदै पालिकाले जग्गा उपलब्ध गराउने निर्णयले झरना साहित्यिक परिवारलाई उत्साहित र थप जिम्मेवारीबोधसमेत गराएको अध्यक्ष गौतमले बताउनुभयो । बकैया गाउँपालिकामा लेखन र पठन संस्कृतिको विकासका साथ साहित्यका माध्यमबाट सभ्य, सकारात्मक एवम् सिर्जनशील नयाँ पुस्तासहितको गाउँपालिकाको रूपमा निरन्तर चिनाउने प्रणका साथ समर्पित भावले लाग्ने प्रतिवद्धता पनि झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले व्यक्त गर्नुभएको छ ।