हेटौंडाः नेपाल स्काउट जिल्ला कार्यालय मकवानपुरले स्काउटको राष्ट्रिय सहायक प्रशिक्षक तथा जिल्ला तालिम आयुक्त वसुधा खड्गेको स्वर्गारोहण भएको १२ औं दिनको पूण्यतिथिमा बुधबार शोक सभाको आयोजना गरेको छ । हेटौंडामा आयोजना गरिएको शोक सभामा स्वर्गीय वसुधा खड्गेको फोटोमा पुष्प गुच्छा अर्पण गरी रोभर रेन्जर र स्काउटरहरुले सलामी समेत दिएका छन् । शोकमा जिल्ला स्काउट कार्यालय मकवानपुरको झण्डा तीनदिनसम्म आधा झुकाइएको छ ।
शोक सभामा निर्मल मावि बस्तीपुरका स्काउट लक्ष्मण थापा, हेटौंडा ओपन स्काउट क्र्यूका अध्यक्ष बुद्विनाथ न्यौपाने, जिल्ला कार्यक्रम आयुक्त कृष्णमाया लटौला, जिल्ला तालिम आयुक्त अशोक सारु मगर लगायतकाले स्वर्गीय खड्गेले स्काउटिङ विकासमा पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए । शोक सभामा सहभागीहरुले खड्गेको स्मरण गर्दै मकवानपुर जिल्लाले स्काउटिङ विकासका लागि लगनशील, अनुशासित, क्षमतावान एक स्काउटर गुमाएको भन्दै स्वर्गीय खड्गेको अभाव रहने बताएका थिए ।
स्काउटर खड्गेको भदौ १३ गतेका दिन उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो । थाईराईडकी बिरामी खड्गेको स्वास्थ्य उपचार गर्ने क्रममा दुवै मिर्गौलाले काम नगर्ने भएकोले डाईलासिस गर्ने क्रममा हस्पिटलमा कोरोना सङ्क्रमण समेत भएको थियो ।