नेपालमा कोभिड उत्कर्षमा पुग्दै छ । अन्त्य हुँदासम्म नेपाली अवस्थाको अनुमान हुन सकेको छैन । घना वस्तीहरु मै कोरोना सङ्क्रमण फैलँदै गएपछि नियन्त्रणमा चुनौती थपिएको छ । सङ्क्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासको प्रभावकारितामा प्रश्न उठेको छ । यसका लागि नागरिकको व्यवहार महत्वपूर्ण हुनेछ । आफू बाहेक अरु सबैमा भाइरस छ भन्ने मान्यताबाट व्यवहार नगरेसम्म सङ्क्रमण कम हुने छैन । लामो समयदेखि सरकारले लकडाउन र निषेधाज्ञाको आदेश जारी गरेको छ । तर आदेशको पूर्णरुपमा पालना नगराउँदा वा नगर्दा सङ्क्रमण नियन्त्रण भन्दा पनि बढ्दै गएको अवस्था छ । नेपालीहरुले अझै कति दिन सङ्कटको सामना गर्नुपर्ने हो ठेगान छैन ।

बन्दाबन्दीका कारण सबैभन्दा तल्लो वर्ग मर्कामा परेको छ । असङ्गठित क्षेत्रमा मजदुरी गर्नेहरुको आम्दानी ठप्प छ । दिनभर ज्याला मजदुरी गर्नेहरुलाई रोगको भन्दा भोगको जोखिम बढ्दै गएको छ । लाखौं मजदुर, गरिब र श्रमिकहरु दिनमा एक छाक खाएर बस्न बाध्य छन् । उनीहरुका परिवारको अवस्था अनुमान गर्न मात्र सकिन्छ । सहर बजारमा ज्याला मजदुरी गरी केही रकम घरपरिवारलाई पठाउँदै आएकाहरु मर्नु न बाँच्नुको अवस्थामा छन् । तर राज्यले यो वर्गलाई कुनै राहतको घोषणा गर्न सकेको छैन । कम्युनिष्ट पार्टीको सरकार हुँदा पनि मजदुर वर्ग समस्यामा पर्नुले नेतृत्व माथि गम्भीर प्रश्न उठ्दै गएको छ । यतिबेला अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि गरिबहरुलाई दुई छाक खाने व्यवस्था गर्नु राज्यको दायित्व हो ।

पूर्वाधार निर्माण नहुँदा त्यस क्षेत्रमा काम गर्नेहरुको आम्दानीको श्रोत बन्द छ । यस्तै उद्योग, कलकारखानामा लोड–अनलोड गर्नेहरुदेखि बजारमा भरियाको काम गर्नेहरुका पीडामा सरकारी निकायहरु सहयोगी बन्न सकेको अवस्था छैन । भोकाएकाहरु कस्ले देला र खान पाइएला भनेर भौतारिएको अवस्था छ । आफैं कमाउँदै आएका लाखौं नागरिक अहिले मगन्ते अवस्थामा पुगेका छन् । यसैक्रममा केही उदारमना व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने प्रयास थालेका छन् । सरकारी निकायले गर्नुपर्ने काम निजी प्रयासमा सुरु भएको छ । हेटौंडामा फुड बैंकदेखि खाना खुवाउने अभियान सुरु भएका छन् । तर यस्ता अभियान कति दिन भन्ने प्रश्न स्वभाविक उठ्ने गर्दछ । जीवन सहज नहुँदासम्म अभियान सञ्चालन आवश्यक हुन सक्छ ।

केही दिन त यस्तो अभियान सञ्चालन हुन सक्ला तर दीर्घकालिन समाधान होइन । तैपनि केही महिना सहयोग गर्न सक्ने गरी कार्यक्रम सञ्चालन आवश्यक छ । यस्ता कार्यक्रममा सबै वर्ग, क्षेत्र र नागरिकको सहयोग हुनु पर्दछ । एकाध व्यक्तिको प्रयासमा सबै नागरिक किन सहभागी नहुने ? यस्तै हेटौंडामा सुरु भएका सेवालाई एकै प्रकृतिबाट सञ्चालन गर्दा थप प्रभावकारी हुने देखिन्छ । खाद्यान्न वा खाना मध्ये कुनै एक अभियान सञ्चालन गरेमा थप केही दिन गरिव र विपन्नले राहत पाउने छन् । खाद्यान्न पनि लिने र खाना पनि खाने एउटै व्यक्ति वा परिवार हुने अवस्था छ । कसैले केही नपाउने र कसैले दोहोरो सेवा लिन सक्ने अवस्थाले सहयोगी मनहरुको उद्देश्य पूरा नहुन सक्छ । तसर्थ हातेमालो गर्दै श्रोतहरुलाई एकीकृत गरी सेवा दिएमा लामो समय कार्यक्रम सञ्चालन गर्न सहज हुने छ ।