हेटौंडाः बकैया गाउँपालिकामा ४० बेडको आइसोलेसन वार्ड बन्ने भएको छ । गाउँपालिकामा आज बसेको कार्यपालिका बैठकले आइसोलेसन वार्ड बनाउने निर्णय गरेको हो । अब छिटै आइसोलेसन निर्माण कार्य सुरु गरिने गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नम्बर ३ हात्तिसुडेमा र वडा नम्बर ४ छतिवनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको हो । आइसोलेसन वार्ड निर्माणका लागि गाउँपालिकाले ४६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दुबै वडामा २३/२३ लाख छुट्याइएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । कार्यपालिका बैठकमा गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
बकैया गाउँपालिका अहिले कारोना सङ्क्रमण शून्य अवस्था छ । गाउँपालिकामा ४ जनालाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित चारै जना उपचारपछि सङ्क्रमणमुक्त भएका छन् ।