हेटौँडा : मकवानपुरमा कुल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी २८ हजार ८०१ जना । उनीहरुले भूमिहिन दलित सुकुम्बासी समस्या समाधान आयोग समक्ष निवेदन दिएका छन् ।
नापी कार्यालय मकवानपुरका प्रमुख एवम् तत्कालिन भूमिहिन दलित सुकुम्बासी समस्या समाधान आयोग मकवानपुरका सदस्य सचिव महेश्वर कार्कीका अनुसार निवेदन दर्ता गरेका मध्ये भूमिहिन दलित ४७१ जना रहेका छन् भने भूमिहिन सुकुम्बासी ३ हजार ५८९ र अव्यवस्थित बसोबासीको संख्या २४ हजार ७३७ जना रहेको छ ।
प्रमुख कार्कीका अनुसार हेटौंडा उपमहानगरपालिकामा ६ हजार १२४ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी छन् । जसमा भूमिहीन दलित २३६, भूमिहीन सुकुम्बासी १ हजार ८५१ र अव्यवस्थित बसोबासी ४ हजार ३७ जना रहेका छन् । बागमती गाउँपालिकामा २ हजार २०८ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी छन् । जसमा ३४ जना भूमिहीन दलित, २८३ जना भुमिहीन सुकुम्बासी र १ हजार ८९५ जना अव्यवस्थित बसोबासीरहेका छन् ।
बकैया गाउँपालिकामा ८ हजार ८१३ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मध्ये भूमिहीन दलित ४४ जना रहेका छन् । भूमिहीन सुकुम्बासीको संख्या ३२८ रहेको छ भने ८ हजार ४४१ जना अव्यवस्थित बसोबासी रहेका छन् । भीमफेदी गाउँपालिकामा रहेका ७७२ भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मध्ये ४५ जना भूमिहीन दलित रहेका छन् भने ३३१ जना भूमिहीन सुकुम्बासी र ३९६ जना अव्यवस्थित बसोबासी रहेका छन् । इन्द्रसरोवर गाउँपालिकामा रहेका १३५ भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मध्ये ५ जना भूमिहीन सुकुम्बासी रहेका छन् भने १३० जना अव्यवस्थित बसोबासी रहेका छन् ।
कैलाश गाउँपालिकामा ५४२ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन् । जसमध्ये भूमिहीन दलित ६ जना, भूमिहीन सुकुम्बासी ६७ र ४६९ जना अव्यवस्थित बसोबासी रहेका छन् । मकवानपुुरगढी गाउँपालिकामा रहेका २४३ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मध्ये २ जना दलित, ४१ जना सुकुम्बासी र २०० जना अव्यवस्थित बसोबासी रहेका छन् ।
मनहरी गाउँपालिकामा रहेका ८ हजार ३३५ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मध्ये १०१ दलित रहेका छन् भने ६१५ जना सुुकुम्बासी र ७ जहार ६१९ जना अव्यवस्थित बसोबासी रहेका छन् । राक्सिराङ गाउँपालिकामा भूमिहीन दलित १ जना, सुकुम्बासी २९ र ३०१ जना अव्यवस्थित बसोबासी गरी ३३१ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन् । थाहा नगरपालिकामा १ हजार २९४ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन् । जसमा ३ जन दलित, ३९ जना सुकुम्बासी र १ हजार २५२ जना अव्यवस्थित बसोबासी रहेका छन् ।
उक्त तथ्यांक आयोगले सुचना जारी गरे अनुसार वडास्तरबाट संकलन भएका निवेदनको आधारमा तयार गरिएको प्रमुख कार्कीले बताए । उनका अनुसार उक्त तथ्यांकमा सबै नागरिकहरुको पहुँच नपुगेको वा छुटेको पनि हुन सक्छ भने प्राप्त निवेदन माथि जाँचबुझ र अद्यावधिक गर्न बाँकी रहेको छ । भूमि समस्या समाधान आयोगको वेब पोर्टल र स्थानीय तहको समन्वयमा तयार गरिएको उक्त तथ्यांकलाई अध्यावधिक गर्दै केही स्थानमा पुर्जासमेत वितरण गरिसकेको उनले बताए ।
प्रमुख कार्कीका अनुसार पुर्जा वितरण गर्नुअघि प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले वडा तहबाट भूमिहीनहरूको लगत संकलन र प्रमाणीकरण गर्न, सो पश्चात स्थानीय तहको कार्यपालिका र अन्तमा जिल्ला समितिले प्रमाणीकरण गरेपछि मात्रै पुर्जा वितरणको प्रक्रिया सुरु हुने उनले बताए । ‘सम्बन्धित व्यक्ति बसोबास गरिरहेको जग्गा दिन मिल्ने खालको छ भने सोही ठाउँमा र नमिल्ने भएमा अन्यत्र जग्गा खोजेर दिने व्यवस्था छ । हेटौंडा उपमहानगरपालिकाका प्रायः सबै वडाहरुमा यो समस्या रहेको र सो बारे अध्ययन भइरहेको छ ।’ उनले भने ।
कुन पालिकामा कति पुर्जा वितरण भयो ?
मकवानपुरमा हालसम्म ९६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग र भूमि समस्या समाधान आयोगको जिल्ला समिति मकवानपुरले विभिन्न समयमा गरेका निर्णयहरु अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा उक्त पुर्जा वितरण भइरहेको हो । प्राप्त विवरण अनुसार मकवानपुरका विभिन्न वडाहरुमा गरी १६ जना भूमिहीन दलित र १४४ जना भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । सो बाहेक ७५ वटा अन्य विभिन्न चरणका कामहरु सम्पन्न भई पुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
बागमती गाउँपालिकामा सबैभन्दा धेरै पुर्जा वितरण भएको देखिन्छ । बागमतीको वडा नम्बर १ मा ४ जना दलित र ३८ जना सुकुम्बासी, वडा नम्बर २ मा ३० जना सुकुम्बासी र थप ५ वटा काम सम्पन्न भएको छ । बागमतीको वडा नम्बर ३ मा १ जना दलित र ५ जना सुकुम्बासीले पुर्जा पाएका छन् भने वडा नम्बर ४ मा १ जना दलित र १ जना सुकुम्बासी, वडा नम्बर ६ मा ८ जना दलित र २१ जना सुकुम्बासीले पुर्जा पाएका छन् ।
बकैया गाउँपालिकाको वडा नम्बर ७ मा ४० जना भूमिहीन सुकुम्बासीले जग्गाधनी पुर्जा पाएका छन् भने वडा नम्बर ५ मा २ जना दलित र ९ जना सुकुम्बासीले पुर्जा पाएका छन् । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १३ मा ६९ वटा पुर्जा वितरणका लागि काम सम्पन्न भएको छ भने वडा नम्बर १६ मा १ वटा पुर्जा वितरणका लागि आवश्यक प्रक्रिया सम्पन्न भएको छ ।











