हेटौँडा : सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको हो । दुवै टिमले पेनाल्टीमार्फत गोल गरेको हो । फ्रेण्ड्स क्लबले सुरुवाती अग्रता बनाए पनि खेलको अन्त्यतिर सम्हालिन नसक्दा पराजित हुनु पर्यो । फ्रेन्ड्सका कप्तान रुपेश केसीले पहिलो हाफको ११ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बागमतीका लागि आयुष मगरले ८५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई खेलमा फर्काएको हो । टाइब्रेकरमा बागमतीका लागि अनिष महर्जन, भुपाल मगर, आयुष मगर, अमन लामा र युवराज ढकालले गोल गरे । फ्रेन्ड्सका लागि सुजन चौधरी, राजेश दाहाल, विवेक मगर र रुपेश केसीले गोल गरे भने प्रशान्त लक्षमको प्रहार बाहिरियो । प्लेयर अफ दि म्याच बागमतीका आयुष मगर घोषित भए । उनले १० हजार प्राप्त गरे।
बागमतीले आयोजक बागमती खेलकुद विकास समितिलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो भने क्वाटरफाइनलमा सातौं संस्करणको विजेता चर्च ब्वाइजलाई हराएको थियो । बागमतीले अब फाइनलमा उपाधिका लागि चित्लाङ एफसी र नव जनजागृतिको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहिबार हुनेछ । फाइनल खेल आगामी शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।











