हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आज मंगलबार काठमाडौंका मछिन्द्र क्लब र चित्लाङ फुटबल क्लब भिड्दैछ । मछिन्द्र क्लब छैठौँ संस्करणको उपाधि विजेता तथा सातौँ संस्करणको उपविजेता हो ।

चित्लाङले यसअघि शनिबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा विभागीय टोली एपीएफ क्लबलाई २–१ गोलले हराएको थियो । मछिन्द्र क्लबले बाई पाएको हो । आज जित्ने टोलीले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगिताको सेमिफाइनल खेल बुधबार र बिहिबार हुनेछ भने फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।