हेटौँडा : मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–२, बैकुण्ठमा बर्थिङ सेन्टर तथा प्रसुती सेवा केन्द्र सञ्चालनमा आएको छ । धादिङ जिल्लाको रोराङ बेनिघाट गाउँपालिकाको ४ नम्बर वडासँग सिमाना गाँसिएको कैलाश बैकुण्ठ क्षेत्रका गर्भवती महिलाहरुले अब आफ्नै गाउँघरको बर्थिङ सेन्टरमा सुत्केरी गराउन पाउने भएका छन् ।
गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गरी सेवा प्रवाह गर्ने लक्ष्यका साथ २ नम्बर वडामा प्रसुती केन्द्र सञ्चालन गरिएको हो । यसअघि घण्टौं यात्रापश्चात १ नम्बर वडाको वरभञ्ज्याङ पुग्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बर्थिङ सेन्टर उद्घाटन गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र भइसकेको बताउनुभयो । उहाँले पालिकाको दुईवटा वडामा मात्रै बर्थिङ सेन्टर सञ्चालन गर्न बाँकी रहेको बताउनुभयो ।
बच्चा र आमाको स्वास्थ्य सुरक्षा होस् र घरमै सुत्केरी गराउने (होम डेलिभरी) को जोखिम अन्त्य गर्ने उद्देश्यले केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । महिलाहरुलाई सुत्केरी व्यथा लागेपछि जोखिम लिएर डाँडाखर्क, पालुङ, मनहरी, हेटौँडासम्म जानुपर्ने बाध्यतालाई अन्त्य गर्न केन्द्रको निर्माण गरेको अध्यक्ष मुक्तानले बताउनुभयो ।
कैलाश बैकुण्ठमात्रै नभई छिमेकी गाउँपालिकाले पनि मातृ–शिशु मृत्युदर कम गर्न, आमा र शिशुको स्वास्थ्यको सुरक्षाको लाभ लिन सक्ने उहाँले बताउनुभयो । राज्यको मापदण्ड अनुरुप कैलाश गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा धेरै कार्यक्रमहरु गर्दै आइरहेको छ । निःशुल्क औषधि प्रदान, पोषण कार्यक्रम, खोप कार्यक्रमलगायत धेरै कार्यक्रमहरु गर्दै आइरहेको छ । ललितबहादुर मुक्तानले प्रदान गर्नुभएको तीन रोपनी जग्गामा गाउँपालिकाको १० लाख लागतमा २ कोठे भवन निर्माण गरेर बर्थिङ सेन्टर सञ्चालन गरिएको हो ।
बर्थिङ सेन्टर सञ्चालनका लागि सम्पूर्ण सामग्री र भौतिक संरचना पूर्ण रहेको वडाध्यक्ष राजेन्द्र घिसिङले बताउनुभयो । उहाँले मातृ–शिशु मृत्युदर घटाउनकै लागि प्रसुती केन्द्र निर्माण गरिएको बताउनुभयो । २ नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, वडा सदस्यद्वय फूलमाया सुनार र सूर्यबहादुर स्याङ्तान, जग्गादाता ललितबहादुर मुक्तान, बैकुण्ठ आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख विश्वनाथ सिंहलगायतको आतिथ्य रहेको थियो ।











