नवनियुक्त प्रधानाध्यापक लिला तितुङ ।

सुमिना चौलागाई
हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाका ९ वटा विद्यालयमा महिला प्रधानाध्यापक कार्यरत छन् । पालिकामा रहेका ५० वटा सामुदायिक विद्यालयमध्ये ३ वटा मावि, ६ वटा आधारभूत विद्यालयमा महिला प्रधानाध्यापक रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पंकस थारुले जानकारी दिनुभयो ।

राक्सिराङ गाउँपालिकामा ५ वटा माध्यमिक विद्यालय छन् । राक्सिराङ गाउँपालिका–३ स्थित सूर्योदय माध्यमिक विद्यालयमा लिला तितुङ, राक्सिराङ गाउँपालिका–५, चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा शर्मिला पौडेल र राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा लालमाया प्रजा प्रधानाध्यापक हुनुहुन्छ । सूर्योदय माविको प्रधानाध्यापक लिला तितुङ बैशाख पहिलो साता प्रधानाध्यापक नियुक्त हुनुभएको हो भने शर्मिला पौडेलले २०८२ सालबाट र लालमाया प्रजाले २०८० सालबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको हो ।

यस्तै राक्सिराङ–१ स्थित आधारभूत विद्यालयमा लक्ष्मी थिङ, बालजागृति प्राथमिक विद्यालयमा रत्ना उप्रेती, राक्सिराङ–५ स्थित नवजीवन प्राथमिक विद्यालयमा तुलसी बर्तौला, राक्सिराङ–६ स्थित जनसेवा प्राथमिक विद्यालयमा सविता भट्ट, राक्सिराङ–७ स्थित सातकन्या प्राथमिक विद्यालयमा अनुराधा चौधरी र प्राथमिक विद्यालय सिमलटारमा मिठु लामिछाने रहनुभएको छ । सूर्योदय माविमा हालै प्रधानाध्यापक नियुक्त हुनुभएकी लिला तितुङ निमावि अंग्रेजी विषय शिक्षक हुनुहुन्छ । तितुङ विद्यालयका सहकर्मी शिक्षक, व्यवस्थापन समिति, अभिभावक, सरोकारवालाको प्रस्तावमा प्रधानाध्यापक बन्नुभएको हो । राक्सिराङ गाउँपालिका–४ की स्थायीवासी तितुङ १५ वर्षदेखि शिक्षण पेशामा आवद्ध हुनु भए पनि शिक्षक सेवा आयोगले २०७९ सालमा लिएको परीक्षामा उत्तीर्ण भई स्थायी शिक्षकको रुपमा नियुक्ति पाउनुभएको हो ।

सूर्योदय माविकी नवनियुक्त प्रधानाध्यापक तितुङले विद्यालयको समग्र विकासका लागि आवश्यक काम गर्न आर्थिक स्रोतको अभाव प्रमुख समस्याको रुपमा रहेको बताउनुभयो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ६ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयको समग्र विकासका लागि आवश्यक स्रोत सुनिश्चित गर्न गत शनिबार सर्वपक्षीय भेला समेत गरिएको प्रधानाध्यापक तितुङले स्पष्ट पार्नुभयो । केही महिनाअघि मात्रै पूर्वविद्यार्थीहरु संगठित भएको र पूर्वविद्यार्थीबाट पनि विद्यालयको समग्र विकासमा आवश्यक साथ, सहयोग लिइने उहाँको भनाइ छ ।

राक्सिराङ गाउँपालिका–५ मा रहेको प्रजा जागृति माध्यमिक विद्यालयकी प्रधानाध्यापक शर्मिला पौडेल एक वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी निभाउँदै आउनुभएको छ । सात वर्षदेखि सोही विद्यालयमा अध्यापन गराउँदै आउनुभएकी शर्मिला गतवर्ष जेठबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको थियो । विगत १७ वर्षदेखि शिक्षण पेशामा आबद्ध उहाँ शिक्षण पेशाको सुरुवात संस्थागत विद्यालयबाट गर्नुभएको थियो । उहाँले केही समय संस्थागत विद्यालयमा अध्यापन गराए पश्चात राक्सिराङ गाउँपालिकाको एक प्राथमिक विद्यालयमा काम गर्नुभएको थियो । उहाँका अनुसार महिला प्रधानाध्यापक हुँदा आफूसँग भएको नेतृत्व क्षमता देखाउन गाह्रो, सबैलाई समेट्न, नीति नियम व्यवस्थापन, विभेदका समस्या, शिक्षक विद्यार्थी बीचको अनुशासन कायम गर्न सहज छैन । महिला भएकै कारण आफूसँग भएको क्षमता देखाउँदा पनि विभेदको समस्या झेल्नु परेको उहाँको भनाइ छ । विगत दुई वर्षदेखि मावि तहको कक्षा सञ्चालन भएको विद्यालयमा प्रावि र निमावि तहका शिक्षकहरूले मावि तहमा अध्ययन गराउँदै आउनुभएको छ । २०८१ सालमा २९ जना विद्यार्थीले एसइइ परीक्षामा विद्यालय निलमा गएको थियो । २०८२ सालमा विद्यालयबाट १९ जना विद्यार्थीले परीक्षा फारम भरे पनि १६ जना विद्यार्थीले परीक्षा दिएको उहाँको भनाइ छ ।

विद्यालयमा साढे २ देखि ३ घण्टा हिँडेर विद्यार्थीहरू आउने गरेका छन् । वर्षाको समयमा विद्यार्थीलाई विद्यालय आउन अझै गाह्रो हुने गरेको छ । विद्यालय भर्ना भएपनि विद्यार्थीहरू नियमित विद्यालय नआउने र बीचमै छाडेर जाने भएकाले विद्यार्थी संख्या कम हुने गरेको छ । भौगोलिक विकटताका कारण विद्यार्थी संख्या वर्षेनी घट्दै जाने गरेको उहाँको भनाइ छ । विद्यालयमा विद्यालय भवन, छात्रावास र शिक्षक दरबन्दी कम रहेको उहाँले बताउनुभएको छ । यस वर्ष पालिकाभित्र रहेको एक विद्यालयको तह घटुवा भएका कारण दुईवटा दरबन्दीका शिक्षकहरू विद्यालयमा थप भएको उहाँले बताउनुभयो । आगामी दिनमा १ देखि ३ सम्म ग्रेड टिचिङ गराउने, शिक्षा गुणस्तर वृद्धि गर्ने, अभिभावक, विद्यालय व्यवस्थापन समिति, पालिका र वडासँग समन्वय गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । १५ गतेसम्म यस वर्ष इसिडिदेखि कक्षा १० सम्म ५० जन विद्यार्थी भर्ना भएका छन् । अभिभावकको कमजोर उपस्थितिले पनि विद्यार्थीहरूले पठनपाठनमा चासो नदेखाउने गरेको उहाँले बताउनुभएको छ ।

राष्ट्रिय माविकी प्रधानाध्यापक लालमायाले सिमान्तकृत आदिवासीको हिसाबले भएका कारण जातीय विभेद पर्ने गरेको बताउनुहुन्छ । प्रधानाध्यापकको जिम्मेवारी २०८० साल असार १८ गतेबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएकी लालमायाले महिला र चेपाङ समुदायको भएको कारण हेर्ने दृष्टिकोण फरक भएको बताउनुहुन्छ । विद्यालयमा भवन, फर्निचर र आर्थिक स्रोत जुटाउन समस्या परेको बताउनुहुन्छ । विद्यालयमा मावि शिक्षक दरबन्दी नभएका कारण पठनपाठनमा समस्या भएको उहाँको भनाई छ । विद्यालयमा मावि तहमा २ जना अनुदान र २ जना निजी स्रोतबाट शिक्षक राखेर पठनपाठन गराइएको छ । २०८२ सालको एसईईमा २७ जना सहभागी भएका छन् भने २०८१ सालको वार्षिक परीक्षामा ७१ जना सहभागी भएकोमा ३ जना ग्रेडेड भएका थिए । विद्यालयमा हाल विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी, शिक्षकका लागि पर्याप्त तालिम, व्यवस्थापनमा कठिनाई भएको उहाँको भनाई छ । विद्यालयमा आवासीय सुविधासहित पठनपाठन भइरहेको छ । टाढाबाट अध्ययन गर्न जानेहरुलाई बस्ने व्यवस्था रहेको छ । गत वर्ष ४ सय जना विद्यार्थी रहेकोमा ७५ जनाले आवासीय सुविधा लिएका थिए । १२ कक्षासम्म पठनपाठन गराउन अनुमती भएको विद्यालयका विद्यार्थी अभावका कारण १० कक्षासम्म मात्रै संचालन गरिएको छ । सोहि वडामा कुनै पनि मावि विद्यालय नभएका कारण र आफ्नो विद्यालयमा एसईई दिने विद्यार्थी कम भएका कारण ११ र १२ बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

पछिल्लो समय गाउँ तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा विद्यार्थी संख्या लगातार घट्दै गएका कारण विद्यालय व्यवस्थापनमा नयाँ चुनौती देखिन थालेको छ । यस अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले विद्यालय मर्ज गर्ने, बन्द गर्ने वा तह घटाउने गरेको पाइन्छ । बसाइँसराइ, जन्मदरमा कमी र निजी विद्यालयतर्फ आकर्षण बढ्नुका कारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । धेरै विद्यालयमा कक्षामा विद्यार्थी अत्यन्त न्यून भएपछि एकै शिक्षकले धेरै कक्षा सम्हाल्नुपर्ने अवस्थासमेत रहेको उहाँको भनाइ छ । विशेषगरी दुर्गम क्षेत्रमा विद्यालय टाढा हुँदा विद्यार्थीहरु नियमित उपस्थिति नहुने समस्या पनि छ ।