हेटौँडा : हेटौँडामा जारी उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ सेमीफाइनल समीकरण पूरा भएको छ । पुरुषतर्फ भने सेमीफाइनल पुग्ने २ वटा टिमको मात्रै टुंगो लागेको छ । आइतबार समूह चरणको खेल सम्पन्न भएसँगै महिलातर्फ सेमीफाइनल समीकरण पूरा भएको हो ।
महिलातर्फ समूह विजेता बन्दै ९ नम्बर वडा र उपविजेता बन्दै १७ नम्बर वडाको टिम सेमीफाइनल प्रवेश गर्दा अर्को समूहमा १२ नम्बर वडाको टिम विजेता बन्दै सेमीफाइनल पुग्यो भने ५ नम्बर उपविजेता बन्दै सेमीफाइनल पुगेको हो । फाइनल प्रवेशका लागि ५ नम्बर वडाले ९ नम्बर वडासँग खेल्नेछ भने १२ नम्बर वडाले १७ नम्बर वडाको सामना गर्नेछ ।
यस्तै पुरुषतर्फ भने १८ र १९ नम्बर वडा सेमीफाइनल प्रवेश गरेको छ । सेमीफाइनल प्रवेशका लागि सोमबार वडा नम्बर ११ ले वडा नम्बर १७ को सामना गर्दा वडा नम्बर १२ ले वडा नम्बर १४ सँग खेल्नेछ । हेटौँडा उपमहानगर खेलकुद विकास समितिको प्रायोजन तथा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय खेलकुद प्रतिष्ठानको आयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । महिलातर्फ ७ वटा वडाको टिम सहभागी हुँदा पुरुषतर्फ १० वटा वडाको टिम सहभागी थिए ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ, सान्त्वना हुने टिमले १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछ ।











