हेटौँडा: कक्षा १२ को वार्षिक परीक्षा आज सोमबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा बैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा सहभागी हुन मकवानपुर जिल्लामा १५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरबाट कक्षा–१२ को परीक्षामा सहभागी हुन ५ हजार २६९ जना विद्यार्थीले फारम भरेका छन् । नियमिततर्फ ३ हजार ८२२ र आंशिकतर्फ १ हजार ४४७ जनाले परीक्षा फारम भरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको हेटौँडा शाखा कार्यालयका अनुसार मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहट जिल्लामा १२४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । साविक नारायणी अञ्चलका यी ५ जिल्लाबाट परीक्षामा सहभागी हुन ४० हजार ८०४ विद्यार्थीले परीक्षा फारम भरेका छन् । जसमा नियमिततर्फ ३१ हजार ७८४ र आंशिकतर्फ ९ हजार २० विद्यार्थी रहेका छन् । गएको वर्षको तुलनामा यस वर्ष विद्यार्थी संख्या घटेको राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिनुभयो ।

१२ कक्षाको परीक्षामा देशभरका ५ हजार ३३९ विद्यालयबाट नियमिततर्फ ३ लाख ३२ हजार १७८ (छात्र १ लाख ७२ हजार १२ र छात्रा १ लाख ६० हजार १३७ र अन्य २९) तथा आंशिकतर्फ ८५ हजार ८३० गरी ४ लाख १८ हजार ८ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । सबैभन्दा कम मनाङ जिल्लाबाट ३१ जना र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६४ हजार ३३८ विद्यार्थीले परीक्षा फारम भरेका छन् । नेपालभर जम्मा १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौं जिल्लामा १६१ वटा र सबैभन्दा कम मनाङ÷मुस्ताङ जिल्लामा १÷१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।