सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशका तीन जिल्लामा ३ जना मृत भेटिएका छन् । प्रदेशको सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेमा ३ जना मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, झोलुङ्गे गाँउमा एक जना पुरुष सडेगलेको अवस्थामा भेटिएका छन् । स्थानीय ३२ वर्षीय विक्रम माझीको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ । माझी गत कात्तिक १ गते घरबाट वेपत्ता भएका थिए । यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२, शंखुपाटीस्थित मानव कल्याण समाज सेवा घरमा एक जना पुरुषको मृत्यु भएको छ । सेवा घरमा बस्दै आएका ४३ वर्षीय दिलिप कुमार मानन्धरको मंगलबार बिहान सुतिरहेको अवस्थामा मृत्यु भएको हो । प्रहरीका अनुसार उनी केही दिनदेखि शरीरको सबै भाग सुन्निई बिरामी भएका थिए ।

सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमान खोलामा एक वृद्ध मृत्त फेला परेका छन् । स्थानीय ५६ वर्षीय हरि बहादुर बस्नेत खोलामा मृत्त फेला परेका हुन् । सोमबार बिहान १० बजे घरबाट हिँडेका बस्नेतको शव मंगलबार दिउँसो ३ बजे फेला परेको प्रहरीले जानकारी दिएको छ ।