हेटौँडाः हेटौँडामा घरेलु मदिरा बनाउने ४ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले आइतबार विशेष सूचनाको आधारमा हेटौँडा–१, चौकिटोलस्थित जगत बहादुर घिसिङको घरमा छापा मारेको थियो ।
घिसिङको घरमा भट्टि सञ्चालन गरी घरेलु मदिरा उत्पादन भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले रितपूर्वक खानतलासी गरेको थियो । सो क्रममा प्रहरीले ४ हजार लिटर तयारी घरेलु मदिरा र ५ हजार लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरेको थियो । साथै, मदिरा बनाउन प्रयोग गरिने ८ थान ग्यास सिलिण्डर, २ थान भट्टे चुलो लगायतका अन्य सामग्रीहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
मदिरा उत्पादनमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई घटनास्थलबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूको परिचय भने खुलाइएको छैन । बरामद गरिएको तयारी मदिरा र कच्चा पदार्थलाई स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रोहबरमा घटनास्थलमै नष्ट गरिएको छ











