हेटौँडा : साधारण धारको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ सम्पन्न भएको छ । साधारणतर्फको परीक्षा बिहीबार सकेको छ भने प्राविधिक धारको परीक्षा आईतबारसम्म चल्नेछ । बिहीबार भएको ऐच्छिक दोस्रो पत्रको परीक्षामा मकवानपुर जिल्लामा १२९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । परीक्षामा ५ हजार ६ सय ८१ जना परीक्षार्थी उपस्थित हुँदा १२९ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जानकारी दिएको छ ।
बिहीबार साधारणतर्फ अन्तिम परीक्षा भएको हो भने प्राविधिक धारको परीक्षा २९ गतेसम्म हुनेछ । परीक्षामा नियमित परीक्षार्थीहरुमध्ये साधारणतर्फ ५ हजार २७८ जना उपस्थित र ७६ जना अनुपस्थित भएका छन् भने प्राविधिक धारतर्फ १७९ जना उपस्थित हुँदा ३ जना अनुपस्थित भएका छन् । यस्तै ग्रेडवृद्धितर्फ २ सय २४ जना उपस्थित हुँदा ५० जना अनुपस्थित भएका छन् । मकवानपुरमा २८ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । साधारणतर्फ परीक्षा २७ केन्द्रमा सञ्चालन भएको थियो भने प्राविधिक धारको परीक्षा हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ । प्राविधिक धारतर्फ मकवानपुरमा नियमित १७९ जना परीक्षामा उपस्थित हुँदा ३ जना अनुपस्थित हुने गरेका छन् ।











