हेटौँडा : जर्नल अफ बिजनेस एण्ड सोसल साइन्सेसको सातौँ संस्करण सार्वजनिक भएको छ । हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेस (एचएसएम) ले बुधबार जर्नल अफ बिजनेस एण्ड सोसल साइन्सेसको सातौँ संस्करण सार्वजनिक गरेको हो ।

बुधबार एक कार्यक्रमका बीच म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशी र सहायक प्रिन्सिपल रामपण्डित खनालले जर्नल विमोचन गर्नुभयो । जर्नलमा कृत्रिम बुद्धिमता र सामाजिक सञ्जालको प्रभाव, लगानीकर्ताको मनोविज्ञानको विश्लेषण, मानव संसाधन व्यवस्थापनका अभ्यासहरु, उद्यमशीलता अभिमुखीकरण, साँस्कृतिक अभ्यासहरु, जलवायु वित्त लगायतका समसामयिक विषयवस्तु समेटिएको छ । यस संस्करणमा ८ वटा अनुसन्धानमूलक लेखहरु समावेश गरिएको छ । उक्त कार्यक्रम सेन्टर फर रिसर्च एण्ड पब्लिकेसनका प्रमुख नारायण कुमार बुढाथोकीको नेतृत्वमा भएको थियो ।

म्यानेजमेन्टले सन् २०१८ देखि यो जर्नल प्रकाशन सुरु गरेको हो । विद्यालयले जर्नललाई नेपाल जर्नल्स अनलाइनमा पनि प्रकाशन गरेको छ । यसले विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताहरुका लागि ज्ञान अदानप्रदान र अनुसन्धान प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विद्यालय प्रशासनले विश्वास लिएको छ ।