हेटौँडा: हेटौँडा अस्पतालमा एकैपटक ४ वटा शल्यक्रिया कक्ष (अपरेशन थिएटर) निर्माण भइरहेको छ । यसअघि अस्पतालमा २ वटा मात्र अपरेशन थिएटर सञ्चालनमा रहेकोमा दुइवटा मोडुलर थिएटरसहित ४ वटा थिएटर निर्माण भई सञ्चालन हुन लागेका हुन् ।
हाल एकपटकमा दुइजनाको शल्यक्रिया गर्न सकिने अवस्था रहेकोमा यि थिएटरहरु सञ्चालनमा आएपछि एकै पटकमा ४ जनाको ठूला शल्यक्रिया गर्न सकिने हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । अस्पतालले हालसम्म शल्यक्रिया कक्षको आधारभूत निर्माण गरिसकेको छ भने शल्यक्रिया प्रक्रियाका लागि आवश्यक बत्ती, टेबल, बेड लगायतका उपकरणहरु भने जडान गर्न बाँकी रहेको डा. सापकोटाले स्पष्ट पर्नुभयो ।
अबको ३ हप्तामा सामग्रीहरु जडान भई सञ्चालनमा आउने अपेक्षा अस्पताल प्रशासनको छ । हाल निर्माणाधिन रहेको २ वटा मोड्युलर कक्षहरुमा शल्यक्रिया गर्दा इन्फेक्सनको डर रहँदैन भने यस शल्यक्रिया कक्षको सजावट तथा बनावट मोड्युलर किसिमले गरेको हुँदा अन्य भन्दा फरक देखिन्छ । यसको अत्याधुनिक सुबिधासहित पूर्णरुपमा निर्माण गर्न ३ करोडसम्म लाग्ने अनुमान गरिएको र हाल पुरानो शल्यक्रिया कक्षबाट नै सामग्रीहरु स्थान्तरण गरी जडान गर्दै अघि बढ्ने र वार्षिक रुपमा थप सुविधासहित शल्यक्रिया कक्षको विकास गर्दै जाने पनि डा. सापकोटाले बताउनुभयो ।











