हेटौंडा–५, सानोपोखरामा आजबाट सञ्चालनमा आएको फुड बैंक ।

हेटौंडाः हेटौंडा–५, सानोपोखराको खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले आजबाट फुड बैंक सञ्चालनमा ल्याएको छ । क्लबका अध्यक्ष उमेश महतको संयोजकत्वमा सानोपोखराको गणेश मन्दिर परिसरमा रहेको क्लबको कार्यालयबाट फुड बैंक सुरु भएको हो । हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँले खाद्यान्न हस्तान्तरण गरेर औपचारिक रुपमा फुड बैंक सन्चालनमा आएको हो ।

आज बिहान सुरु भएको फुड बैंकले ३७ परिवारलाई खाद्यान्न हस्तान्तरण गरेको छ । बैंकले आज प्रतिव्यक्ति ५ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न हस्तान्तरण गरेको छ । आज सुरु गरिएको खाद्यान्न हस्तान्तरण कार्यक्रममा क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, सदस्य रमेश तिमल्सिना, क्लबका सल्लाहकार विशाल राज महत लगायतको उपस्थिति रहेको थियो ।

अहिलेको कोरोना महामारीको अवस्थामा दैनिक छाक टार्न समस्या भएका, ज्याला–मजदुरी गर्नेहरुलाई लक्षित गरेर फुड बैंक सञ्चालन गरिएको क्लबका सल्लाहकार विशालराज महतले बताउनुभयो । हुनेले दिएर र नहुनेले लिएर जाने अभियानका साथ फुड बैंकमा सञ्चालन गरिएको हो ।