हेटौँडा : गत वर्ष एसईईमा सामुदायिक विद्यालयमध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै मकवानपुरगढी–५ स्थित शारदा माविले जिल्लामा सामुदायिक विद्यालयको बिरासत जोगायो । कुल २५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा सबै उत्तीर्ण हुन सफल भए । जिल्लामै एकमात्र सामुदायिक विद्यालयले राखेको यो विरासत जोगाएर उत्कृष्ट नतिजा कायम राख्न विद्यालयले यस वर्ष पनि व्यवस्थापन तथा मेहनत गरिरहेको छ ।
यस वर्ष विद्यालयबाट २७ जना विद्यार्थीहरु एसईईमा सहभागी हुँदैछन् । चैत १९ गतेबाट एसईई सुरु हुन लागेकोले अहिले विद्यालयले विद्यार्थीलाई तयारी गराइरहेको छ । अघिल्लो वर्षजस्तै यस वर्ष पनि विद्यार्थीहरुलाई विद्यालयमै प्रत्यक्ष निगरानीमा राखी पठनपाठन गराइरहेको कक्षा १० का कक्षा शिक्षक सुमन खनालले जानकारी दिनुभयो ।
गत मंसिर ११ गतेदेखि विद्यार्थीहरुलाई बन्द शिविरमा राखेर कक्षा सञ्चालन भइरहेको छ । ११ जना छात्र तथा १६ जना छात्राहरु परीक्षामा सामेल हुँदै गर्दा २ जनाले ए प्लस, ७ जनाले ए र बाँकीले सामान्य ग्रेड ल्याउने अपेक्षा विद्यालयले गरेको छ । विद्यालयले विद्यार्थीहरुलाई बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म प्रत्यक्ष शिक्षकद्वारा नै निगरानीमा पढाइरहेको छ । यतिमात्र होइन, पूर्वतयारी योग्यता परीक्षामा कमजोर नतिजा आएका विद्यार्थीहरुलाई छुट्टै राखेर विशेष निगरानीमा थप कक्षाहरु सञ्चालन गरिरहेको कक्षा शिक्षक खनालले बताउनुभयो ।
विद्यालयमै राखेर पठनपाठन हुँदा आफ्नो पूर्ण ध्यान विषयमै केन्द्रित गर्न सकिएकोले विद्यार्थीहरु पनि खुशी छन् । विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गरेको विद्यार्थी कृष्टि श्रेष्ठ बन्द शिविरमा राखेर पढ्न पाउँदा ध्यान अन्यत्र भड्किन नपाएकोले परीक्षामा सहज हुने बताउँछिन् । विद्यलायले दैनिक प्रतिविषय दुई घण्टा समय छुट्याएको छ । शिक्षकहरुले साथीजस्तो सहज वातावरणमा अध्यापन गरिरहेकोले आफू खुशी रहेको अर्का विद्यार्थी अस्मित हुमागाईं बताउँछन् । आफूहरु उत्कृष्ट नतिजा प्राप्त गर्न हरसम्भव प्रयास गरिरहेको उनीहरुको भनाइ छ । विद्यार्थीहरुले पढाइसँगै पुरा निन्द्रा लिने, पानी पर्याप्त पिउने र भोकै बस्न नहुने कृष्टिको सुझाव छ ।
अघिल्लो वर्षको विरासत धान्ने मात्रै नभई अझै उत्कृष्ट नतिजा ल्याउने विद्यालयको लक्ष्य रहेको प्रधानाध्यापक इन्द्रबहादुर कार्की बताउनुहुन्छ । नियमितरुपमा शतप्रतिशत नतिजा ल्याउन चुनौती भए पनि शिक्षक, अभिभावक र स्थानीय तहको संयुक्त बैठकले निर्णय गरी बन्द शिविर सञ्चालन गरेको हो । दुई वर्ष अघिको एसईईमा जम्मा २२ प्रतिशत विद्यार्थीमात्र परीक्षामा उत्तीर्ण भएकोमा बन्द शिविर सञ्चालनपछि नै नतिजामा धेरै फरक आएको प्रधानाध्यापक कार्की बताउनुहुन्छ ।
अघिल्लो वर्ष बन्द शिविर राखेर राम्रो नतिजा प्राप्त गरेपछि यस वर्ष पनि विद्यालयमा बन्द शिविर सञ्चालनका लागि खाना खर्चका लागि प्रतिविद्यार्थी ७ हजार खर्च गरिएको छ । साथै, गाउँपालिकाले थप कक्षा पठनपाठनका लागि अंग्रेजी, विज्ञान र गणित विषयमा प्रति विषय ४ सयको दरले उपलब्ध गराएको छ । बन्द शिविरमा लाग्ने अन्य जनशक्तिको खर्च वडा नं ५ कार्यालयले ब्यहोर्ने सहमति भएको विद्यालयले जनाएको छ । कुल ५ सय ३१ जना विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा एक विद्यालय नर्स, एक नृत्य शिक्षक, मावि दरबन्दीमा ५ जना शिक्षकसहित ३१ जना शिक्षकहरु रहेका छन् ।











