हेटौँडा : हेटौँडा अस्पतालले नवनिर्मित भवनबाट थप सुविधासहित डायलाइसिस सेवा सञ्चालन गर्ने तयारी गरेकोे छ । गत पुसमा निर्माण सम्पन्न भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत साविक अस्पतालसँगैको ५ तले भवनबाट सेवा सञ्चालन गर्ने तयारी भएको हो ।
नयाँ भवनमा सुरुमा डायलाइसिस सेवासहित अन्य विशेष ओपीडी सेवाहरु सुचारु गरिने अस्पतालले जनाएको छ । पुरानो भवनमा सञ्चालनमा रहेका डायलाइसिस सेवासहित युरोलोजी सेवा (पिसाब तथा मृगौला सम्बन्धी), कार्डियोलोजी (मुटुसम्बन्धी) र आयुर्वेदिक ओपीडी सेवाहरु नयाँ भवनमा सार्ने तयारी गरिएको हो ।
हाल सेवा दिइरहेको स्थान साँघुरो अवस्थामा रहेकोले नयाँ भवनमा खुला स्थानमा सारिँदा उपचार गराउन आउने बिरामीलाई पनि सहज हुने अपेक्षा अस्पतालले गरेको छ । नयाँ भवनमा सारेपछि डायलाइसिसको क्षमता पनि बढ्नेछ । पुरानो भवनमा सेवा दिन स्थानको अभावले १४ वटा शैयामा डायलाइसिस सेवा दिइँदै आएकोमा नयाँ भवनमा एकै पटक ३० वटा शैयाबाट सेवा प्रवाह गर्न सकिने अस्पतालका प्रवक्ता उत्सव चौलागाईंले बताउनुभयो ।
नयाँ भवनमा सेवा विस्तारका लागि थप १५ डायलायसिस मेसिनहरु टेन्डर प्रक्रियाबाट खरिद भइसकेको उहाँले जानकारी दिनुभयो । ३० वटा डायलाइसिस मेसिनहरु एकैपटक प्रयोग गर्न सकिने र दैनिक तीन सिफ्टमा ८० भन्दा बढी मृगौलाका बिरामीलाई डायलाइसिस सेवा दिन सकिनेछ । यसअघि दैनिक तीन सिफ्टमा ३२ जना बिरामीलाई मात्र डायलाइसिस सेवा प्रदान गरिँदै आएको थियो । मेसिन थप भएपछि अब प्रतीक्षामा रहेका बिरामीहरुलाई समेत राहत हुने विश्वास चौलागाईंको छ ।
अबको एक महिनामा डायलासिस सेवा नयाँ भवनमा सारिने उहाँले स्पष्ट पार्नुभयो । नयाँ भवनमा अक्सिजनका पाइप वितरण तथा अन्य फर्निचर सेटिङहरु भइरहेको उहाँले जानकारी दिनुभयो । यस्तै, हाल इसीजी, ड्रेसिङलगायतका अन्य सेवाहरु पनि यहि स्थानबाट प्रवाह गरिनुका साथै अर्को आर्थिक वर्ष मुटुरोगीहरुलाई आपतकालीन सेवाको लागि क्याथ ल्याब सेवा पनि सुचारु गर्ने अस्पतालको योजना रहेको छ । क्याथ ल्याब सेवा सुचारु गर्न २० करोडभन्दा बढी खर्च लाग्ने हुँदा अस्पतालले संघीय अनुदानको प्रयास गरिरहेको छ । क्याथ ल्याब सुचारु हँुँदा मुटुका भल्भ ब्लकेज, ओपन हार्ट सर्जरीलगायतका मुटुका आपतकालीन उपचार गरी जीवन रक्षा गर्न सकिने अस्पतालले जनाएको छ ।
यसै हप्ताबाट अस्पतालले युरोलोजी अन्तर्गत युएफएम (पिसाब बहाब मापन गर्ने प्रविधि)को सुरुवात गरेको छ । यस प्रविधिबाट लामो समयसम्म पिसाबमा प्रोस्टेट, पिसाब नली साघुँरिएको तथा पिसाब थैलीमा समस्या भएका बिरामीहरुलाई पिसाबको मात्रा, बहाब, समयलगायतको जानकारी दिने भएकोले यी समस्या भएका बिरामीलाई राहत पुग्नेसमेत प्रबक्ता चौलागाईंको भनाइ छ ।











