सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१२, आस्थाचोकमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार बिहान ५ बजेर ३० मिनेटको समयमा केन्द्रीय बसपार्कबाट गोन्द्राङतर्फ जाँदै गरेको बा प्र ०६–००५ प ७६८० नम्बरको मोटरसाइकल सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

दुर्घटनामा तनहुँ जिल्लाको रिसिङ गाउँपालिका–३ घर भई हाल भरतपुर–३, बेलचोकमा बस्दै आएका २१ वर्षीय टोन बहादुर आले मगर, तनहुँ देवघाट नगरपालिका–२ का २२ वर्षीय ओम प्रकाश आले र २२ वर्षीय अमर थापा मगर घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज र भरतपुर अस्पताल पठाइएको थियो । उपचारका क्रममा टोनबहादुरको बिहान ५ बजेर ५० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।