हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ बाह्रघरेचोक नजिक नारायणी नदी क्षेत्रमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१६, शरणपुरका १४ वर्षीय सनम रम्तेल र प्रशान्त क्षेत्री रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार दिउँसो १२ बजेर ५० मिनेटको समयमा बाह्रघरेचोक नजिक जमेको घोलमा पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता भएका थिए । दुवै जनालाई दिउँसो २ बजेर ४ मिनेटमा उद्दार गरी भरतपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा दिउँसो २ बजेर ४० मिनेटको समयमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू बाह्रघरेस्थित मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए ।











