हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाका ४१ जनामा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा नगरक्षेत्रका ३० जना र हेटौंडा औद्योगिक क्षेत्रस्थित बर्जर पेन्ट्समा कार्यरत ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार बर्जर पेन्ट्समा कार्यरतहरुको काठमाडौंमै कोरोना परीक्षण गरिएको हो ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगाशलाबाट आज साँझ प्राप्त रिपोर्ट अनुसार हेटौंडाका स्थायीवासी ११ जना महिला र १८ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यस्तै भक्तपुर जिल्ला स्थायी ठेगाना भई हेटौंडा बस्दै आएकी एक महिलालाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित आइसोलेसन वार्डमा भाद्र १३ गते सङ्कलन गरिएको स्वाबको २ सय ७५ स्वाबको परीक्षण गर्दा आज हेटौंडाका ३० जनामा कोरोना पुष्टि भएको हो । आज परीक्षण भएका २७५ स्वाब मध्ये २४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ५ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।