हेटौंडाः बागमती प्रदेश सरकारले ५ जिल्लाका अस्पतालको स्तरोन्नति गर्ने भएको छ । आफ्नो मातहतमा अस्पताल नभएका ५ जिल्लाका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । बागमती प्रदेश सरकारको मंगलबार बसेको बैठकले प्रदेश मातहत नभएका जिल्लाको स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेशका ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु रहेका छन् । हाल दोलखा, काभ्रे, काठमाडौं, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल छैनन् । यसैगरी पर्यटन व्यवसायको इजाजत नवीकरण तथा जरिवाना/विलम्ब दस्तुरमा छुट दिने पनि निर्णय गरेको छ ।
बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०७७, दुध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन स्विकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाहरुको अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय गरेको पनि मन्त्री ढुङ्गेलले बताउनुभयो ।