हेटौँडाः बागमती प्रदेशको मुख्य न्यायाधीवक्ताको कार्यालयको ८ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम भइरहेको छ । स्थापना दिवसको अवसर पारेर आइतबार र सोमबार मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र प्रदेशमा निर्माण भएका ऐन कानुन सम्बन्धमा अन्तरक्रिया गरिएको थियो ।
आइतबार हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा कानुन अध्ययनरत विद्यार्थीहरुसँग र सोमबार सोही क्याम्पसमा बीएएलएलबी पढ्ने विद्यार्थीहरुसँग अन्तक्रिया गरिएको थियो । मंगलबार मुख्य न्यायाधीवक्ता अप्सरा बस्नेतको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए भने रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।
आज बुधबार भुटनदेवी मन्दिर र मुख्य न्यायाधीवक्ताको कार्यालय परिसरमा सरसफाई कार्यक्रम रहेको मुख्य न्यायाधीवक्ता बस्नेतले जानकारी दिनुभयो । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समितिको सभाहलमा स्थापना दिवस समापन हुने बस्नेतले बताउनुभयो ।











