सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको चितवन जिल्लामा स्कुटरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ भने त्रिशूली नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२७, पर्साढाप बजारमा स्कुटरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार दिउँसो १ बजेको समयमा जितपुरबाट चनौलीतर्फ जाँदै गरेको बा प्र ०६–०१ प ००९० नम्बरको स्कुटरले साइकललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

साइकलयात्री भरतपुर–२७, पर्साढापका ६२ वर्षीय रामजी अर्याल गम्भीर घाइते भएका थिए । घाइते अर्याललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा मंगलबार बिहान ९ बजेर ४५ मिनेटको समयमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न स्कुटर चालक भरतपुर–२८ का २८ वर्षीय सतिस मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै चितवनको इच्छाकामना गाउँपालिका–६ त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । मंगलबार दिउँसो ३ बजेको समयमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान हुन सकेको छैन । मुचुल्का पश्चात शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।