हावाहुरीका कारण भाँचिएको टावर ।

हेटौँडा : हावाहुरीका कारण टावर भाँचिएर प्रसारण अवरुद्ध भएको हेटौँडा एफएम ९६.६ मेगाहर्जको प्रसारण नियमित भएको छ । टावर मर्मत हुन केही समय लाग्ने भएपछि अस्थायी व्यवस्थापन गरेर रेडियो प्रसारण गरिएको छ । आधा भागमा भाँचिएको टावर र एन्टेनाको मर्मत गरी प्रसारण सुचारु भएको हो ।

मर्मतपछि आइतबार साँझबाट एफएम पूर्णरुपमा सञ्चालनमा आएको छ । सो प्रसारण टावरको निर्माण नहुन्जेलसम्म केही समय अस्थायी प्रसारण मै रहने एफएमले जनाएको छ । हाललाई अस्थायी रुपमा सुचारु भएपनि स्थायी रुपमा प्रसारण नियमित गर्न अझै अनिश्चित रहेको एफ एमका अध्यक्ष उज्ज्वल चौलागाईले जानकारी दिनुभयो । गएको शुक्रबार अपरान्ह हेटौँडामा आएको हावाहुरीका कारण हेटौँडा–४, कमलडाँडास्थित हेटौँडा एफएमको १ सय २० फिट अग्लो प्रसारण टावर बीच भागमा भाँचिएको थियो ।