हेटौँडा : हेटौंडा उपमहानगरपालिका अन्र्तगत हटिया नगर अस्पतालमा रिक्त रहेको मेडिकल अधिकृत (डाक्टर) पदका लागि विज्ञापन प्रकाशन गरेको छ । तीन महिनादेखि डाक्टरबिहिन हटिया अस्पतालका लागि डाक्टर नियुक्त गर्न सोमबार उपमहानगरले विज्ञापन गरेको हो ।
विज्ञापन प्रकाशन भएपछि परीक्षा समितिले १५ दिनपछि परीक्षा तथा अन्तरवार्ता लिई डाक्टर छान्ने र बैशाख १ गतेबाट डाक्टरको नियमित सेवा दिने योजना रहेकोे हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख सूर्यप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार हाल हटिया अस्पतालमा दैनिक ३० देखि ५० जना बिरामी उपचारका लागि आउने गर्छन् । हटिया अस्पतालमा डाक्टर उपलब्ध भएमा सामान्य बिरामी जाँचका लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यता हट्ने अपेक्षा छ ।
हाल हटिया अस्पतालमा एक जना मेडिकल अधिकृत (डाक्टर) सहित २ जना सिनियर अहेब, १ जना ल्याब टेक्निसियन, २ जना अहेब, १ जना सिनियर अनमी, १ जना अनमी र २ जना कार्यालय सहयोगीसहित कुल १० जना कर्मचारीहरुको दरबन्दी छ । यीमध्ये १ जना सिनियर अहेब र १ जना सिनियर अनमीको पद स्थायी र बाँकी अन्य पद करारका रहेका छन् । यस अस्पतालमा कार्यरत डा. नरेन्द्र केसीले गत मंसिरमा राजीनामा दिएपछि मेडिकल अधिकृतको पद रिक्त रहँदै आएको थियो ।











