हेटौँडा : हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयले शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यालयको शिक्षक–अभिभावक संघका पदाधिकारीका लागि ‘मेरो विद्यालय, मेरो गौरव’ भन्ने मूलभावसहित अभिमुखीकरण कार्यक्रम भएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले जानकारी दिनुभयो ।
कार्यक्रममा चितवन जिल्लास्थित नारायणी नमुना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागी शिक्षकहरूले आगामी दिनहरूमा कक्षाकोठा प्रवेश तथा अध्ययन अध्यापनमा सिकाएका विषयवस्तुहरूलाई समावेश गरी बाल मनोविज्ञानमा आधारित शिक्षणमा अझ बढी जोड दिनका लागि उत्प्रेरणा प्राप्त भएको प्रतिक्रिया दिएका छन् । जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद बस्ताकोटीको सभाध्यक्षता तथा नगरप्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रम उत्साहजनक भएको बताइएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालाको विशिष्ट आतिथ्य रहेको थियो । हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ? जनप्रियको शान हामी सबैको मान भन्ने भनाइ मनन् गर्नुपर्नेमा प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताउनुभयो ।











